Logo

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा जान ओलीजीलाई लाज लाग्यो : कांग्रेस सांसद



काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले मुलुकमा राजनीतिक अस्थिरताका संकेत देखिन थालेको बताएका छन् ।
‘नेपाली जनताको निर्वाचित प्रतिनिधिको थलो एक महिनादेखि चलेको छैन । पटकपटक संसद् अवरोध भइरहेको छ । राजनीतिक अस्थिरताका संकेत देखिन थालेका छन् । सिंगै व्यवस्थाप्रति जनताको विश्वास कमजोर भएर जाने अवस्था निम्तिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा जान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लजाएको आरोप पनि खतिवडाले लगाए । उनले थपे, ‘अहिले एमाले राणाजीका पनि महाराज जस्तो भएर बसेको छ । ओलीजीलाई राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा जान पनि लाज हुन्छ । कुनै बेला राति १२ बजे पनि ढकढक गर्न पुग्नुहुन्थ्यो । मेल पठाएको २५ सेकेन्ड नभईकन अध्यादेश स्वीकृत हुन्थ्यो । सबैसँग भेट्दा लाज हुने, एक्लै भेट्दा खुसी हुने ओलीजी ?’
एमालेले जनताको ध्यान अन्यत्र मोड्न उच्चस्तरीय छानबिन समितिको माग राखेको पनि उनले बताए । खतिवडाले भने, ‘सत्ताबाट बाहिरनु परेकाले एमाले निकै अत्तालिएको छ । सुन प्रकरणमा सातआठ फिट बुरुकबुरुक उफ्रियो । तस्करीको सुन त अहिलेकै सरकारले समाएको हो नि । अनुसन्धान नभईकन फलानो चोर हो भन्न मिल्छ ? जनताको ध्यान अन्यत्र मोड्न उच्चस्तरीय आयोग बनाउने कुरा उचित होइन । स्वतन्त्र अनुसन्धान भए एमालेका मानिस पर्छन्, आयोगमा बनाए आफ्ना मान्छे राख्न पाइन्छ भन्ने उहाँहरुको नियत खराब छ । आशय खराब छ । रायमाझी, मल्लिक आयोगको प्रतिवेदन के भए ? कसैलाई थाहा छ ?’ संविधान र कानुनले चिनेका मूल्य मान्यताबाहिर जाने हो भने व्यवस्थामाथि नै खतरा हुने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्