Logo

गाउँपालिकाका पूर्व अध्यक्षको उदाहरणीय कृषि कर्म



मन्थली (रामेछाप), ६ भदौ । रामेछापको गोकुल गङ्गा गाउँपलिकाका निवर्तमान अध्यक्ष शेरबहादुर सुनुवारले कृषि कर्ममार्फत गाउँमा उदाहरणीय बनेर देखाएका छन् । दैनिक हजारौँको सङ्ख्यामा विदेशिने युवालाई चुनौती दिँदै उनले गाउँमै नमुना कृषि फार्ममार्फत व्यावसायीक कृषि गर्दै आएका छन् ।

पछिल्लो समय स्वदेशमै कृषि गर्नुभन्दा विदेश जाने युवाको सङ्ख्या बढेको भन्दै राजनीतिसँगै कृषिलाई व्यावसाय बनाएको सुनुवारले बताए । राजनीति गर्नेले अरु पेसारव्यवसाय नगर्ने परम्परा रहेको बताउँदै उनले कृषिका माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि कर्ममा लागेको बताए ।

‘राजनीति पेसा होइन सेवा हो’भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउँदै सुनुवारले  राजनीति गर्नेको जीविकोपार्जनका लागि कुनै पेसासँग जोडिनुपर्ने आवश्यकता महसुस गरेर राजनीतिसँगै कृषि पेसामा जोडिएको बताए । राजनीति गर्ने मान्छे जुन पेसामा जोडिए पनि अब्बल र नमुना बन्नुपर्नेमा उनले जोड दिए।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्यसमेत रहनुभएका सुनुवार सबैलाई कर्म गर्न सिकाउँदै छन् । सुनुवार बहुदलीय व्यवस्था आएदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा गोकुलगङ्गा गाउँपालिकाको अध्यक्षका रुपमा  विजयी भएका सुनुवारले पालिकाको पदमा हुँदा पनि फुर्सदको समयमा कृषि कर्मलाई निरन्तरता दिएका थिए । अहिले उनी गाईवस्तुको थलाको भकारो सोर्न र डोको बोक्ने गर्छन् ।

विसं २०४९ देखि निरन्तर सार्वजनिक पदमा रहेका सुनुवार विसं २०४९ मा गाविस उपाध्यक्षमा निर्वाचित भए । पछि उनले गाविसको कार्यबाहक अध्यक्ष भएर काम गरे । विसं २०५४ मा गाविस अध्यक्ष भएर जिम्मेवारी निभाए ।

विसं २०७४ को निर्वाचनमा भने उनी पराजित भएपछि आफ्नो सम्पूर्ण समय कृषिमा लगाएको सुनुवारले बताए । गाउँमा पशुपालनसँगै खेतीलाइृ नै व्यावसाय बनाएको उनको भनाइ थियो । गाउँपालिकाको अध्यक्ष हुँदा पालिकालाई कृषिबाट नै समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरेको उनले जानकारी दिए ।

उनले अध्यक्ष हुँदा यहाँका किसानलाई किबी, फलफूलका बिरुवा, कृषि उत्पादन, पशुपालनलगायतका क्षेत्रमा अनुदानको व्यवस्था मिलाउनुका साथै आलु पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गरे । व्यावसायिक क्षेत्रमा लागेमा जीविकोपार्जन सहन हुन्छ भन्दै उनले  स्थानीयवासीलाई प्रेरित गर्न विभिन्न अनुदानका कार्यक्रम ल्याएका थिए ।

गाउँपालिका अध्यक्ष हुँदा उनले किबी, चिया, आलु, सिमीका साथै विभिन्न जातका फलफूल र खाद्यबालीको व्यावसायी खेतीका लागि विभिन्न कार्यक्रम ल्याएको सुनुवारले बताए ।

अहिले उनको बगैँचाका तीन सय बढी किबीका बोटले व्यावसायिक उत्पादन दिन सुरु गरिसकेका छन् । अन्य बिरुवा पनि एक÷दुई वर्षमा उत्पादन दिने अवस्थामा पुगेका छन् । एक बोट किबीले वार्षिक ५० केजीसम्म उत्पादन दिन्छ । किसानले किबी बगैँचाबाट  तीन सय प्रति केजीमा बिक्री गर्छन् ।

सुनुवारले आर्गानिक चिया र आलुका साथै लसुन, प्याज, स्कुस, कोदो, मकैलगायत खेती गरिरहेका छन् । विभिन्न जातका फलफूलका साथै स्थानीय जातका कुखुरा र पशुपालनमा पनि उत्तिकै सक्रिय छन् उनी ।

उनी आफैँ खेतीको काममा खट्छन् । कोदालो खन्छन्, डोको बोक्नुहुन्छ, बिरुवा काँटछाँट गर्छन् । “भ्याएसम्म प्रायः काम आफैँ गर्ने हो । नभ्याउँदा अलिअलि मान्छे पनि लगाउनुपर्छ”, सुनुवारले भने । उनले उत्पादनसँगै बजारीकरणको काम पनि सुरु गरेको बताए ।

आफ्नो र स्थानीय किसानको उत्पादन बजारसम्म पु¥याउने काममा अहिले सुनुवार लागेका छन् । “यसले गर्दा किसानले उत्पादनको राम्रो मूल्य पाउने र उपभोक्ताले पनि सस्तो मूल्यमा गुणस्तरीय र आर्गानिक खानेकुरा पाउने वातावरण बन्दै गएको छ”, उनले भने ।

अहिले माथिल्लो लेकाली भेगमा आलु खन्नेर बजार पठाउने बेला भएको छ । यहाँ उत्पादित आलु लिएर सुनुवार आफैँ काठमाडौँं छिरेका छन् । भक्तपुरस्थित गट्ठाघर पुलको छेउमा एउटा सटर भाडमा लिएर उनले दुई हजार चार सय मिटर माथिको कुनै विषादी प्रयोग नगरिएको आर्गानिक आलु बिक्रीमा राखेका छन् ।

रामेछापको गोकुलगङ्गा र उमाकुण्डको ताबेँलगायत लेकाली क्षेत्रको आलु उपत्यकाका उपभोक्तालाई बेचिरहेको सुनुवारले बताए । उनले आलुको विज्ञापन गर्न चिन्ता नभएको भन्दै शुभचिन्तक, पार्टीका नेताहरू विज्ञापन गरिदिइरहेको बताए ।

गोकुलगङ्गामा उत्पादन भएको अर्गानिक आलु भक्तपुरको गठ्ठाघरमा बिक्री गरिरहेको बताउँदै सुनुवारले यसले किसानलाई प्रोत्साहन दिनुका साथै सहरवासीलाई अर्गानिक आलुको स्वाद दिइरहेको बताए ।

आफू गाउँपालिका अध्यक्ष हुँदा जनताको इच्छाअनुसार जनपक्षीय योजना बनाएर किसानलाई अनुदान दिएको जनाउँदै उनले यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आलु जोनका रुपमा काम गरिरहेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्