काठमाडौं, ६ साउन । न्यू कालिका ग्रिल तथा फिल्टर प्रा. लि. का सञ्चालक हरिकुमार श्रेष्ठले नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्दप्रसाद थपलियाले कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम नदिएर उल्टै धाकधम्की दिने गरेको आरोप लगाएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले थपलिया सञ्चालक रहेको ग्रामिण कृषि सेवा प्रा. लि. बनाउँदा ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए । थपलियाले ६७ लाखको सम्झौता गराएर ६ करोड १३ लाखको काम गर्न लगाएको उनको भनाई छ ।
भुक्तानी माग्दा थपलियाले प्रहरी प्रशासनको दुरुपयोग गरेर उल्टै आफूलाई पीडित बनाएको उनको आरोप छ । थपलियाले उल्टो ५० लाख लिन छ भनेर जिल्ला अदालतमा मुद्दा हालेको श्रेष्ठले बताए । उक्त मुद्दा १४ महिनापछि आफूले जितेको उनले बताए । आफूले थपलियाविरुद्ध जाहेरी दर्ता गराउन जाँदा नौ महिनासम्म हैरानी खेप्नु परेको दुःखेसो पोखे ।
उक्त मुद्दाको अनुसन्धान अधिकृत सुरेश सुवेदी भएपनि दुई जनाको मिलेमतोमा गठी देखिदैन भनिरहेको उनले बताए । थपलियाले पैसा नदिएकै कारण श्रमिकहरुलाई भुत्तानी दिन बाँकी रहेको उनले बताए ।
अखिल नेपाल निर्माण संगठनका उपमहासचिव मदन बराइलीले सरकारले मजदुर ठग्ने गोविन्द थपलियालाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए । उनले थपलियालाई राज्यले कारबाही गरेको खण्डमामात्रै भुईँमान्छे र मजदुरहरुले न्याय पाएको अनुभूति गर्न सक्ने बताए ।
अखिल नेपाल निर्माण संगठनका उपाध्यक्ष कमल न्यौपानेले आफूहरुले सकेसम्म थपलियालाई अप्ठ्यारोमा पार्ने र उनको इज्जतमाथि खेलबाड गर्न नचाहेको बताए । उनले दुई पक्ष बसेर छलफल गरी यो विषय टुंगोमा नपुर्याए थापलियाको घर घेर्न आफूहरु बाध्य हुने बताए । न्यू कालिका ग्रिल तथा फिल्टर प्रा. लि. का मजदुरले थपलियको कृषि फर्ममा काम गर्दाको रकम नपाएको बताए ।
हेर्नुहास पीडितले पत्रकार सम्मेलनमा बोलेको भिडिओ: