Logo

विशिष्ट व्यक्तिहरुद्वारा गौरा पर्वको शुभकामना प्रकट



काठमाडौं, भदौ ७ । पराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।

नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको उनले उल्लेख गरेका छन् ।

त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन्

नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्त्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दै उनले जारी संदेशमा उल्लेख गरेका छन्, “संस्कार र संस्कृति फरक भएकाले हामी नेपालीहरू विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।”

त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्वको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको शुभकामना व्यक्त गर्दै मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्दै विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका यस्ता पर्वले नेपालीलाई समाजमा विद्यमान अन्धविश्वास, सबै प्रकारका विभेद तथा विसङ्गतिलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्