Logo

एकीकृत समाजवादीले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न सकेन : विष्णु रिमाल



काठमाडौं, ९ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वर्तमान सरकारले भ्रष्टाचारको अनुसन्धानको नाममा ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएका छन् ।
‘यो सरकारले आफ्नै सत्ता गठबन्धनभित्र मन परेकालाई उन्मुक्ति दिने, मन नपरेकालाई घिसार्ने गरिरहेको छ । सबै भ्रष्टाचारको अनुसन्धान गर्दा हामीलाई आपत्ति छैन । तर भ्रष्टाचारको अभियान चलाएको हो कि स्टन्ट मात्र गरेको हो ? मिडियामा आएका समाचारका आधारमा डाम्ने, इबी साँध्ने र बदनाम गर्ने मात्र गर्नुको कुनै अर्थ छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
संसद्को शक्तिका आधारमा एमालेले लडेर संसदीय समितिको सभापति लिएको तर सरकारले चौथो र पाँचौं पार्टीलाई उपेक्षा गरेको आरोप पनि उनले लगाए । रिमालले भने, ‘संसद् त्रिशंकु छ । कसैको बहुमत छैन । त्यसैले प्राप्त सिट संख्याका आधारमा जिम्मा लिनेलिने कुरा हुन्छ । संख्याका हिसाबले कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा ठूला दल हुन् । हामीले त लडेर लिएका छौं । तर सत्तापक्षले साना पार्टीलाई खुसी पार्न चौथो र पाँचौं पार्टीलाई आउट गरेको छ ।’
अर्को प्रसंगमा एमाले उपमहासचिव रिमालले एकीकृत समाजवादीको दुई वर्षे कार्यकाल एमालेलाई कमजोर पार्ने प्रयत्नबाहेक अरु गर्न नसकेको बताए । उनले भने, ‘उहाँहरुले एकदमै गलत काम गर्नुभया । त्यो गर्नै हुँदैनथ्यो । एमालेलाई कमजोर बनाएर अरुको हौसला बढाउनुभयो । विचार नमिले पार्टीभित्रै बहस गर्नुपर्थ्र्यो । उहाँहरुले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न सक्नुभएन । त्यसैले कोही फर्किनुभयो, कोही फर्कंदै हुनुहुन्छ ।’
एकीकृत समाजवादीले दलाली गरेर सत्ता कमिसन लिएको आरोप पनि रिमालले लगाए । उनले भने, ‘घनश्याम भुसाल कहिले के मुख छाड्नुहुन्छ, थाहै हुन्न । त्यसैले उहाँ टिप्पणी गर्न लायक नै हुनुहुन्न । अर्काले बनाएको पार्टीमा महासचिव बन्नुभएको छ । आफ्नो पार्टी राम्रो बनाएर देखाउनुस् न । दलाली गरेर प्राप्त कमिसन हो सत्ता । एकदुई थान मन्त्री खानुलाई सफलता भनिँदैन ।’
कोसी प्रदेशमा एमालेकै सरकार बन्ने पनि उपमहासचिव रिमालले बताए । उनले भने, ‘कोशी प्रदेशमा गठबन्धनले हाकाहाकी सधिवान मिचेको छ । त्यसैले ससर्ती हेर्दा हुनुपर्ने त एमालेकै सरकार हो ।’



प्रतिक्रिया दिनुहोस्