काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य दिलु पन्तले सरकारले सुशासनको पक्षमा र समृद्धिको लागि कटिबद्ध भएर काम गरेको दाबी गरेकी छिन् । उनले पार्टीले सरकारको सुशासनको एजेण्डामा दरिलो साथ दिइरहेको पनि स्पष्ट पारिन् ।
उनले भनिन्–‘अहिले हाम्रो पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठक भर्खरै सम्पन्न भैसकेको छ । भ्रष्टाचारलाई समुल अन्त्य गर्नको निम्ति हामीले सडकदेखि सदनसम्म आवाज बुलन्द बनाउने भनेका छौं । सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कारबाहीमा सघाउने भनेका छौं । सरकारले गरेको छानबिनलाई साथ दिने भनेका छौं । तर, सरकारले छानबिन लुकाउन खोजेमा हामी विरोध गर्दछौं । अहिले सरकारले ठीक ढंगले काम गरेको छ । यसमा हाम्रो पूरा साथ र समर्थन छ।’
नेतृ पन्तले अहिले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको पनि दाबी गरिन् । उनले भनिन्–‘हाम्रो पार्टीभित्र कुनै विवाद छैन् । हामीले समृद्ध नेपाल निर्माणको लागि विद्रोहसहित नेकपा (एकीकृत समाजवादी) बनाएका हौं । हामी समृद्ध नेपालको लागि कटिबद्ध छौं । हाम्रो विद्रोह पुष्टि हुँदैछ । एउटा जीवन्त पार्टीभित्र बहस हुन्छ । छलफल हुन्छ । अनि अहिले उठेका विषयलाई विवाद मान्नुहुँदैन् ।’
उनले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको मितिसमेत घोषणा गरिसकेको अवस्थामा अब आफूहरु एकताबद्ध र गोलबद्ध भएर अघि बढ्ने विश्वास दिलाईन् । उनले थपिन्–‘हामी एकमतका साथ अघि बढेका छौं । हाम्रो पार्टी दर्शन र आन्दोलनमा आधारित अनि लक्ष्यमा आधारित पार्टी हो । त्यसैले प्रगतिशिल बाटोमा अघि बढेको छ ।’
उनले अहिले जनजिविकाको सवाल र अहिलेसम्म प्राप्त उपलब्धिको रक्षाको लागि समाजवादी मोर्चा पनि बनिसकेको स्मरण गराउँदै मोर्चाले सही दिशा समातेर कार्यक्रम बनाएको बताईन् । उनले भनिन्–‘हामी समाजवादी मोर्चामा पनि छौं । जनताका सवालका कुरा उठाएका छौं । सरकारले गरिरहेको सुशासनको पक्षमा दृढ भएर उभिएका छौं । सुन काण्डमा सिआइबीले राम्रो छानबिन गर्नुपर्छ । यो प्रकरणमा सत्य, तथ्य आउनुपर्छ । हाम्रो पार्टीले खबरदारी गरिरहेको छ ।’