Logo

कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुभन्दा सहमतिको सरकार बनाउनु उपयुक्त हुन्छ : एमाले उपाध्यक्ष



काठमाडौं, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री युवराज ज्ञवालीले धरानमा सामाजिक सद्भाव कायम गर्न आफ्नो पार्टीले बोलिरहेको दाबी गरेका छन् ।
‘धरानमा शान्ति र सद्भावका लागि एमालेले बोल्नुपर्छ । हामी बोलिरहेकै छौं । नेपाल सानो भए पनि विविधताबीचको एकता कायम भएको देश हो । बहुजातीय, धार्मिक र सामाजिक सद्भाव भएको मुलुकमा जातीय सद्भाव बिथोल्ने कुरा गलत, बेठिक र अनुचित हो । यस्तो बेला सबै जनाले संयम र धैर्य लिन सक्नुपर्छ । सबैलाई मिलाउने प्रयत्न गर्नुपर्छ । हाम्रो मूल्य, मान्यता, नीति, विचार र सिद्धान्त नै यही हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
उपाध्यक्ष ज्ञवालीले कोशी प्रदेशमा मध्यावधि चुनावमा जानुभन्दा सहमति गरेर सरकार बनाउनु उपयुक्त हुने औंल्याए । उनले थपे, ‘कोशी प्रदेशको सरकारले विश्वासको मत लिँदा गलत काम भयो । तर अहिले मध्यावधि चुनावमा जाने स्थिति छैन । मुलुकले बारम्बार चुनाव धान्न सक्दैन । सम्भव भएसम्म एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्छ । तर मध्यावधि चुनावमा जानुभन्दा सहमति गरेर सरकार बनाउनु उपयुक्त हुन्छ ।’
एमालेको भदौ १३ मा सिरहामा बस्ने सचिवालय बैठकमा पनि यसबारे निर्णय हुन सक्ने उनले बताए । उनले भने, ‘हाम्रो पार्टीको २०४६ भदौमा चौथो महाधिवेशन भएको ऐतिहासिक ठाउँमा सचिवालय बैठक राखेका छौं । मदन भण्डारीलाई महासचिव बनाएको र संयुक्त जनआन्दोलन गर्ने नीति लिएको ठाउँ भएकाले हामीले भदौ ९ गतेका लागि बैठक राखेका थियौं । निरन्तर झरी परेकाले स्थगित बैठक अब १३ गते हुन्छ । यो बैठकले आवश्यक निर्णय लिन सक्छ ।’
ललिता निवास काण्डमा तथ्य र प्रमाणका आधारमा कारबाही नगरे भोलि सीआईबीमाथि नै प्रश्न उठ्ने स्थिति आउने ज्ञवालीले औंल्याए । साथै उनले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउनु अनुचित, गलत र बेठिक थियो भन्ने पार्टीका नेताहरुलाई महसुस हुन थालेको पनि बताए । ज्ञवालीले भने, ‘उहाँहरुले बेग्लै पार्टी बनाउनुको औचित्य पुष्टि गर्न सक्नुभएन । त्यो कदम गलत थियो भनेर आत्मालोचना गरेपछि मात्र पार्टी एकता हुन सक्छ । तर, तत्काल त्यो सम्भावना छैन ।’



प्रतिक्रिया दिनुहोस्