पुष्कर सापकोटा
युएई, भदौ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि आइसिसि कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि ढुंगानाले आइतबार यूएईमा सबै संघ सँस्थाको उपस्थितिमा र जुममार्फत पत्रकार सम्मेलन गरी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।
एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताए ।
एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले आफ्नो कार्य अनुभव समेत प्रस्तुत गरेका छन ।
उनले भने ‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढाइरहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’
कोरोना महामारीका बेला श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले विश्वभरका नेपालीमा आफ्नो सक्रियता देखाइसकेका छन । दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा सबै गैरआवासीय नेपाली माझ परिचित छन ।
एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएका छन ।
एनआरएनए अभियानमा आम श्रमिकलाई जोड्न वैकल्पिक स्रोत जुटाएर समेट्ने योजना रहेको ढुंगानाको प्रतिवद्धतामा उल्लेख रहेको छ ।
केही दिनमा नै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै विश्वमा रहेका एनआरएनएहरुसँग छलफल तथा भेटघाट गर्न निस्कने ढुंगानाले बताए । आइसिसिमा यूएईको गरिमामय उपस्थितिका लागि उनले सबै गैर आवासीय नेपालीहरुको सहयोगको अपील गरे ।
ढुंगानाले आफू यस अभियानमा केही लिन नभई दिनको लागी आएकाले विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई साथ दिन अपिल गरेका छन । एनआरएनए आइसिसिको कोषाध्यक्षमा यूएईबाट नै रामेश्वर शाहले यस अगाडिनै जिम्मेवारी निभाई सकेका थिए ।
पर्यटन तथा ट्राभल्स क्षेत्रमा व्यवसाय गरिरहेका ढुंगानाको यूएई तथा नेपालका धेरै क्षेत्रमा लगानी गरेका छन ।