Logo

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता



बेइजिङ, ११ भदौ । अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन् ।

वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम गरिरहेका बेला हालैका महिनाहरूमा अमेरिकी अधिकारीहरूले चीनमा गरेको उच्चस्तरीय भ्रमणको शृङ्खलामा एक मन्त्रीका रूपमा उहाँको यो पछिल्लो भ्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्ष चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने समाचारहरू सार्वजनिक भइरहँदा अमेरिकी बाणिज्य मन्त्रीका रूपमा राइमोन्डोले व्यापार क्षेत्रमा रहेका तनाबलाई कम गर्न चीन भ्रमण गरेका हुन् ।

सोमबार बिहान चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भएको भेटमा राइमोन्डोले दुई देशबीचको आर्थिक सम्बन्ध ‘विश्वकै सबैभन्दा महत्वपूर्ण’ भएको बताएका छन्।

“हामी बीच ७०० अर्ब डलरको व्यापार छ र म तपाईसँग सहमत छु कि हामीसँग स्थिर आर्थिक सम्बन्ध हुनु अत्यन्त महत्वपूर्ण छ,”अमेरिकी वाणिज्य मन्त्रालयले मन्त्री राइमोन्डोलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यो एक जटिल सम्बन्ध होस यो चुनौतीपूर्ण पनि छ,” उनले वाङसँग भने ।

उहाँले प्रसङ्गलाई जोड्दै भने, “हामी निश्चित रूपमा केही मुद्दाहरूमा असहमत हुनेछौं, तर मलाई विश्वास छ कि यदि हामी प्रत्यक्ष, खुला र व्यावहारिक छौं भने हामी प्रगति गर्न सक्छौं ।”

आइतबार बेइजिङ आइपुगेका राईमोन्डोसँग वाणिज्य मन्त्रालयको अमेरिका तथा ओसियाना विभागका निर्देशक लिन फेङ र चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले भेटवार्ता गरेका थिए ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा पोस्ट गर्दै राइमोन्डोले आफ्नो भ्रमणले सम्बन्धमा नयाँ उर्जा दिनेमा आफु आशावादी रहेको बताएका छन्।

भ्रमणका क्रममा उनले चीनको आर्थिक शक्ति केन्द्र साङ्घाईको पनि भ्रमण गर्ने अमेरिकी वाणिज्य विभागले जनाएको छ । उनी बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

पछिल्लो केही बर्ष यता संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध दशकौं यताकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।

वासिङ्टनले राष्ट्रिय सुरक्षाको सुरक्षाका लागि व्यापार प्रतिबन्ध महत्वपूर्ण रहेको बताउँदै आएको छ, तर चीनले यसलाई अमेरिकाले आफ्नो आर्थिक वृद्धिलाई रोक्न खोजेको कदमका रूपमा बुझेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot