Logo

गगन थापाले रहस्यमय कुरा मात्र गरेर हुँदैन : माओवादी नेता



काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले भ्रष्टाचारका फाइल खोलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आतंकित भएको आरोप लगाएका छन् ।
‘वर्तमान सरकारको मिसन नै भ्रष्टाचारलाई शून्यमा झार्ने हो । सरकारले वाइडबडी, गिरीबन्धु टीस्टेट लगायत सबै भ्रष्टाचार काण्डको छानबिन गर्छ । तर त्यो केपी शर्मा ओलीले भनेपछि मात्र गर्ने होइन । ओलीको अभिव्यक्ति सरकारले बढाएको अनुसन्धानबाट आतंकित भएको जनाउ हो । उहाँले आफ्नो पालामा किन भ्रष्टाचारको फाइल खोल्नुभएन ? सत्ता टिकाउन अपराध लुकाएर बसेको होइन ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता शाहीले भ्रष्टाचारमा दोषी देखिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि नछाड्ने दृढता प्रकट गरे । उनले भने, ‘अनुसन्धानका क्रममा को को जोडिन्छन्, कोही उम्किन पाउँदैनन् । आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता पनि छाडिँदैन ।’
माओवादीकउपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोरामाथि त अनुसन्धान भएन नि भन्ने प्रश्नमा शाहीले थपे, ‘कृष्णबहादुर महरा बाबुछोराका नाममा यहाँ राजनीति भइरहेको छ । उहाँको कुनै गल्ती वा कमजोरी छ भने त सीआईबीले समातेर अनुसन्धान नगर्ने कुरै छैन । खालि यति पटक र उति पटक फोन भयो मात्र भन्नु षडयन्त्र हो । यो माओवादीको सरकारलाई कमजोर बनाउने षडयन्त्र हो । उहाँले सुनभन्दा पनि चुरोट नै हो भनेर फोन गर्नुभएको हो । यो नेताहरुलाई पाठ पनि हो ।’ सरकारले महरालाई संरक्षण नगरेको र थप प्रमाण भेटिए ढिलोचाँडो अनुसन्धानमा आउने दाबी गरे ।
उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई रहस्यमय कुरा नगर्न चेतावनी दिए । शाहीले भने, ‘उहाँले हिलो छ्यापाछ्याप मात्र गरेर हुन्छ ? खालि रहस्यमय कुरा गरेर हुँदैन । कुनै प्रमाण छ भन्नुपर् यो नि गगन थापाले । जति दिन टिकिन्छ, त्यति दिनसम्म भ्रष्टाचारविरुद्ध दृढतापूर्वक लाग्नु सरकारको प्रमुख दायित्व हो ।’ साथै उनले राप्रपा मात्र नभएर एमाले र रास्वपासहितको राष्ट्रिय सहमतिको सरकार बनाएर जनताका आधारभूत समस्या समाधान गर्न चाहेको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्