काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले विद्युत् प्राधिकरणको नेतृत्वको कार्यशैलीको आलोचना गरेका छन् । उनले प्राधिकरणबाट कहिल्यै विद्युत् नजानेगरी डेडिकेटेट र ट्रङ्क लाइन लिएका ५८ उद्योगले महसुल नतिर्दा पनि प्राधिकरण मौन बसेको भन्दै आशंका व्यक्त गरे ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले तराईका विभिन्न जिल्लामा डेडिकेटेड फिडरबाट लाइन लिएका २९८ उद्योगहरूमध्ये ५८ उद्योग तथा प्रतिष्ठाले विद्युत् महसुल नतिरे पनि प्राधिकरणले लाइन नकाटी संरक्षण गरेको आरोप लगाए ।
उनले सामान्य जनताले बिद्युत महसुल नतिरेमा २५ प्रतिशतसम्म जरिवाना लगाउने र लाइन काट्ने प्राधिकरणले के कारणले महसुल नतिर्ने उद्योगीहरूलाई संरक्षण गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले यसरी पैसा नतिर्ने ठुला ठुला उद्योगहरूमा जगदम्बा स्टिल, डाबर नेपाल, अग्नि सिमेन्ट, घोराही सिमेन्ट, सम्राट सिमेन्टलगायत ठुला ठुला उद्योगहरू रहेको र यीबाट करिब १० अर्ब १४ करोड ८ लाख रुपैयाँ रकम बक्यौता उठाउने काम नभएको बताए । Photo By: Mukunda Kalikote/ReportersNepal