काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र सर्वमान्य नेताको रूपमा परिचित छन् । १४औं महाधिवेशनमा शेखर कोइरालालाई पराजित गरेका देउवा निरन्तर पार्टीभित्र बलियो बन्दै गएका छन् । पार्टीको संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले देउवासँग प्रतिष्पर्धा गरेका थिए ।
तर, थापाले देउवासँग दलको नेताको चुनावमा नमिठो हार व्यहोरे । अझैपनि थापाले देउवालाई दलको नेतामा चूनौति दिने भन्न छाडेका छैनन् । तर, पार्टीभित्रको जनमत भने थापाको पक्षमा छैन् । युवादेखि पाका नेताहरुलाई मिलाएर लैजाने खुबी भएका देउवा यतिवेला कांग्रेसमा मात्रै नभएर अन्य दलका नेताहरुको पनि अभिभावकको रुपमा चिनिन थालेका छन् ।
पुष १० गते आफ्नो नेतृत्वमा रहेको गठबन्धन टुटेको अवस्थामा फागुन नसकिँदै पूरानो गठबन्धन व्युँताउने र आफ्नै पार्टीका समकालिन नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भएका देउवा त्यसपछि राजनीति जितको यात्रामा रोकिएका छैनन् । अरु नेताले गुमाएको गुमाएकै अवस्था हुँदापनि देउवा भने जित यात्रामा छन् ।
देउवाले सत्ता गठबन्धनभित्र समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । खासै नबोल्ने स्वभावका देउवा बोलेपछि भने त्यो पूरा गरेर छाड्छन् । सत्ता गठबन्धनमा माधव नेपालदेखि उपेन्द्र यादवसम्म देउवाकै भरमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवाको वचन टार्न सक्दैनन् । उनी जे निर्णय लिँदा पनि देउवासँग सल्लाह गरेरमात्रै लिन्छन् । पछिल्लो समय कांग्रेसभित्र शेखर कोइराला समूहले देउवासँग सहकार्य गरिरहेको छ । अहिले महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापामात्रै देउवाको विपक्षमा उभिएका छन् ।
पार्टीको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकमा समेत देउवाको पक्षमा अध्यधिक बहुमत केन्द्रीय सदस्यहरु खुलेका थिए । बैठक नै प्रत्यक्ष–प्रसारण गर्ने निश्कर्षमा पुग्दा सभापति देउवाको वाहवाही भएको थियो । देउवा आलोचना सहने नेताको रूपमा पनि चिनिन्छन् । उनी विरोधीहरुको कुरा सुन्छन् । खासै नबोलेपनि देउवाले जितिरहेको नेताहरुको भनाई छ । एक केन्द्रीय सदस्यले भने–‘आदरणीय पार्टी सभापतिज्यू, बोल्नुहुन्न । तर, उहाँले नबोलेरै राजनीति जितिरहनुभएको छ । यो उहाँको खुबी हो ।’
बास्तवमा गठबन्धनका अन्य घटकका शीर्ष नेताहरु घण्टौं भाषणवाजीमा रमाएका छन् । तर, देउवा पार्टीका एकाध कार्यक्रमबाहेक खासै सार्वजनिक कार्यक्रममा देखिँदैनन् । देखिइहाले भनेपनि उनी अरु नेताजस्तो सार्वजनिक खपतको लागि चिच्चाएर बोल्दैनन् । तर, उनी नबोलेपनि राजनीतिलाई आफ्नो मुठ्ठीमा लिन माहिर छन् ।
सरकारमा सिके राउत नेतृत्वको जनमतलाई सहभागी गराउनेदेखि राप्रपालाई संसदीय समितिको सभापति दिलाउन देउवाकै मुख्य भूमिका रहेको चर्चा छ । यो बीचमा उनले कोशी प्रदेश जोगाउनको लागि राप्रपाको साथ लिनेगरि मुभ गरेका छन् । राप्रपाले संसदीय समितिको सभापति लिने र कोशीमा कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई सघाउनेगरि भद्र सहमति भएको चर्चा छ । भलै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै लेनदेन वा सहमति नभएको दाबी गरेका छन् ।
तर, माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति दिन प्रधानमन्त्री प्रचण्ड राप्रपालाई दिन राजी हुनुले पनि राप्रपा र सत्ता गठबन्धनका नेताहरुबीच केही न केही सहमति भएको अनुमान गर्न सकिन्छ । पूर्वाधार विकास समितिको सभापतिका आकांक्षी माओवादीका सांसद माधव सापकोटाले पनि शीर्ष नेताहरुबीच भद्र सहमति भएकाले आफूले त्याग गरेको अभिव्यक्ति दिएका छन् । कोशी प्रदेश जोगाउनको लागि कांग्रेसले समितिको सभापति त्याग गर्नुपर्नेमा देउवाकै कुटनीतिक कदमका कारण माओवादीले समिति सभापति गुमाएको चर्चा पनि छच । त्यतिमात्रै होईन, देउवाले आफ्नै पत्नी डा. आरजु राणालाई कृषिजस्तो महत्वपूर्ण समितिको सभापति बनाए । प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वको लागि देउवाले नै धेरै मेहनत गरेको चर्चा अहिले गठबन्धनभित्र भैरहेको छ ।
सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हालेको छ । देउवा आँफै वेटिङ–प्राइममिनिस्टर हुन् । प्रचण्डपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल एक वर्ष प्रधानमन्त्री हुने र त्यसपछिको अवधि देउवाले सरकारको नेतृत्व गर्ने भद्र सहमति छ । यस्तोमा देउवाकै नेतृत्वमा ०८४ को निर्वाचन हुनेछ । देउवाले यो संसद्को पूरा अवधि नै गठबन्धनको सरकार चल्ने र त्यसको लागि आफूहरुले सुझबुझपूर्ण ढंगले भूमिका खेल्नुपर्ने कांग्रेस नेताहरुलाई भन्ने गरेका छन् । file photo/reportersnepal