Logo

उर्जामन्त्री शक्ति बस्नेत हटाउने प्रधानमन्त्री दाहालको तयारी, राजेन्द्र लिङ्देनलाई सरकारमा ल्याउने



काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारलाई बलियो बनाउनेगरि गृहकार्य थालेका छन् । यो बीचमा उनले राप्रपालाई संघीय सरकारमा सत्तारोहण गराउने तयारी थालेका थिए । तर, ठोस सहमति भएको थिएन । कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकार संकटमा परेको बेलामा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाको साथ खोजे ।

यो बीचमा देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पटक–पटक भेटवार्ता गरेका छन् । देउवा र लिङ्देनबीचको भेटवार्ता र सहमतिबारे प्रधानमन्त्री प्रचण्डपनि जानकार छन् । देउवाले कोशीमा कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार जोगाउनको लागि आँफै पहलकदमी लिएको चर्चा छ । त्यसको लागि उनले राप्रपाको साथ लिन खोजेका छन् । भदौ ११ गते भएको संसदीय समितिको निर्वाचनमा राप्रपालाई एउटा समितिको सभापति दिने सहमति पनि कोशी प्रदेशको संकटमोचनकै कडी भएको गठबन्धनका नेताहरुको भनाई छ ।

नभन्दै माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंह निर्वाचित भए । सिंहको समिति सभापति चयन कोशी प्रदेशको संकटमोचन रहेको कांग्रेस र माओवादी नेताहरुको दाबी छ । तर, राप्रपाका नेताहरुले भने त्यस्तो कुनै भद्र सहमति नभएको दाबी गरेका छन् ।

स्वयम पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशलाई सघाउने निर्णयमा आफूहरुले संसदीय समितिको सभापति नलिएको स्पष्ट पारेका छन् । विश्वस्त सूत्रका अनुसार राप्रपा संघीय सरकारमा फेरि जाने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राप्रपाका अध्यक्ष लिङ्देनलाई नै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । यसअघि पनि लिङ्देन प्रचण्ड नेतृत्वको सरकारमा सहभागी थिए ।

उनी उपप्रधान एवम् उर्जामन्त्री बनेर सरकारमा सहभागी थिए । अहिले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालले लिङ्देनलाई उपप्रधान एवम् उर्जामन्त्री बन्न आग्रह गरेको र उक्त प्रस्तावमा लिङ्देन सकारात्मक बनेको स्रोतको दाबी छ । अहिले माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री छन् । राजेन्द्र लिङ्देन सरकारमा सहभागी हुँदा उनै शक्ति बस्नेतले त्याग गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डले आफ्नो कुर्सी जोगाउनको लागि अरु सबै गुमाउने बाटो रोजेको भनेर माओवादी वृत्तभित्र चर्चा हुने गरेको छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot