Logo

एमसीसीजस्तै अनुदानको मोडलमा अरू देशले सहयोग गर्न चाहे हामी त्यसको स्वागत गर्छौं : अर्थमन्त्री डा. महत



काठमाडौं, १४ भदौ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना पाँच वर्षभित्रै सम्पन्न हुने दाबी गरेका छन् ।
‘एमसीसीको सर्त पूरा गर्न ६ वर्ष लागेको जगजाहेर छ । विभिन्न किसिमका शंका उपशंका भए । गलत किसिमका प्रचारप्रसार पनि भए । अहिले ती कुराहरु निर्मूल भइसकेका छन् । समयको अनुशासनले तोकिएको अवधिभित्रै काम सम्पन्न गर्ने र परिणाम निकाल्ने कुराको सुनिश्चितता गर्छ । त्यसैले हामीले समयमै काम गर्ने संस्कृति बसाल्नुको विकल्प छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अर्थमन्त्री डा. महतले संसद्बाट अनुमोदित व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरिसकेको दाबी पनि गरे । उनले भने, ‘एमसीसीबारे हाम्रो संसद्मा लामो छलफल भयो । एमसीसीलाई प्रश्न पठाएपछि यो नेपालको काननु र संविधान अन्तर्गत हुने स्पष्ट भइसकेको छ । अब सबैले कार्यान्वयनमा यसलाई सहयोग गर्नुपर्छ ।’
एमसीसीका बारेमा फेरि पनि विरोधका स्वरहरु सुनिएका छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा डा. महतले भने,’ यस्ता स्वर बेलाबखत आइरहन्छ । सेना आउँछ भन्नु त भ्रम छर्ने कुरा मात्रै हो । यो विशुद्ध विकास परियोजना हो । ट्रान्समिसन र सडक नेपालकै लागि हो, अमेरिकाका लागि होइन । हामीले नेपालको हित सुनिश्चित हुने गरेर काम गरेका छौं । सबै आशंका निवारण भइसकेपछि फेरि खोतल्नुको अर्थ छैन ।’
एमसीसीजस्तै अनुदानको मोडलमा अरु देशले सहयोग गर्न चाहे पनि त्यसको स्वागत गरिने पनि मन्त्री महतले बताए । उनले भने, ‘अहिले हाम्रो देशमा उत्पादित जलविद्युत् उत्पादन खेर जाने अवस्था छ । देशको समृद्धिका लागि विद्युत्को पूर्ण उपयोग गर्नुपर्छ । अनावश्यक झमेला सिर्जना गरे हामीलाई समृद्धि प्राप्त हुँदैन । एमसीसीजस्तै अनुदानको मोडलमाजुनसुकै मुलुकबाट आए पनि सहयोग लिनुपर्छ ।’
अर्को प्रसंगमा अर्थमन्त्री डा. महतले सरकार अर्थतन्त्र सुधारोन्मुख मात्र नभएर गतिशील बनाउन लागिपरेको दाबी गरे । उनले भने, ‘हो, अर्थतन्त्र सुधारोन्मुख छ, अब गतिशील हुन सक्ने प्रशस्त आधार छन् । राजस्वमा अझ बढी सुधारको आवश्यकता छ । रियल स्टेट, उत्पादनशील क्षेत्र, सेयर मार्केटलाई सहज बनाउँदै छौं । नेपाल राष्ट्रबैंकको नीतिका कारण लगानीकर्ताहरुमा रहेको अन्यौल र दुबिधा चिरेर अघि बढ्छौं ।’



प्रतिक्रिया दिनुहोस्