Logo

भुवन केसीले डेढ सय वर्ष जेल बस्नुपर्ने शैलेन्द्र सिम्खडाको व्यंग्य (भिडिओसहित)



काठमाडौं, १४ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा हाँस्यकलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, जोगिन्दर पानवाला (शिवशंकर रिजाल), हिमेश पन्त, दिनेश काफ्ल लगायतको उपस्थिति रहेको थियो ।

साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका सभापति ऋषि धमलाले देशमा प्रत्येक दिन गाईजात्रा भइरहे पनि संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए । हाँस्यव्याङ्ग्य क्षेत्रमा अहिलेको नयाँ पुस्ता एकदमै सफल रहेको धमलाको भनाई छ । क्लबका सभापति धमलाले आगामी दिनमा रिपोर्टर्स क्लब नेपालले गाईजात्रालाई झनै प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । पञ्चायतकाल र राजाको शासन व्यवस्थामा समेत हाँस्यकालकारले हाँस्यव्याङ्ग्यमार्फत परिवर्तनको पक्षमा आवाज उठाएको र सचेतना फैलाएको पनि उनले स्मरण पनि गरे ।

कार्यक्रममा हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले नेपालमा डबलीबाट सुरु भएको गाईजात्रा २०३३ सालमा सत्यमोहन जोशीले रंगमञ्चमा ल्याएको स्मरण गराए । नेपाली गाईजात्राको इतिहासलाई स्मरण गर्दै उनले भने,‘नेपालमा गाईजात्रा भन्ने पर्वलाई डबलीबाट रंगमञ्चमा २०३३ सालमा सत्यमोहन जोशीले लगेको हो । म २०३७ सालबाट सहभागी भएँ ।’

२०३७ सालदेखि गाईजात्रामा सहभागी हुँदै आएपनि तीनवटा संकटकाल व्यहोरेको बताए । उनले २०४६ साल, २०६२÷०६३ साल र कोरोना कालमा गाईजात्राले अहिलेसम्म तीनवटा संकटकाल व्यहोर्न परेको बताए ।

‘मैले तीनवटा गाईजात्राको संकटकाल व्यहोरेको छु, २०४६ सालमा प्रजातन्त्र आयो । उच्च तहमा पुगेको रंगमञ्चको कार्यक्रम ध्वस्त भयो । फेरि ०४७ सालबाट सुरु गरियो । ०४७ बाट सुरु गर्दै गएपछि फेरि २०६२/०६३ मा आन्दोलन भयो ।’ उनले भने, ‘फेरि त्यो जमिनमा पुग्यो । त्यसपछि फेरि सुरु गरेका थियौं । कोरोनाले खाईदियो । हामी डिजिटलमा गयौं । डिजिटलमा गएपछि गाईजात्रा गर्ने मञ्च नपाउँदा मैले शैलेन्द्र सिम्खडा युट्युव च्यानल भनेर त्यहाँबाट सुरु गरेँ ।’

यसपटकदेखि प्रज्ञा भवनमा आज (बिहीबार) दुई शो, शनिबार एक शो र आईतबार दुई शो गरेर पाँच शो गाईजात्रा रंगमञ्चमा जुर्मुराउने उनको भनाई छ । हाँस्यकलाकार सिम्खडाले सुन तस्करी प्रकरण र देशका विभिन्न भ्रष्टाचार र अनियमिततको बारेमा व्याङ्ग्य गरेका थियो । साथै, पत्रकारहरुलाई व्याङ्ग्य गर्दै उनले विदेशमा पैसा लगेर राख्ने भ्रष्टाचारीलाई खोज्न र सत्य, तथ्य, यथार्थ लेख्न १२ भाईलाई आग्रह गरे ।

अहिले सिनेमा क्षेत्रमा ‘उमेर नपुगेकासँग जोगिन गाह्रो र उमेर पुगेकालाई जोगाउन गाह्रो’ रहेको भन्दै व्याङ्ग्य गरे । ‘१७ वर्षकी नायिकालाई छुस्स छोयो भने ‘मन परे मित्र, नत्र खोरभित्र’ को अवस्था रहेको उनको भनाई छ । उनले सबै मिलेर कानुन बदल्नका लागि कम्मर कस्न आवश्यक रहेको बताए । पल शाह र सन्दीप लामिछानेलाईजस्तो कानुन लगाएको खण्डमा भुवन केसीले डेढ सय वर्ष जेल बस्नुपर्ने उनको व्याङ्ग्य थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot