Logo

माओवादी सचिवलाई प्रश्न— चीनले चुच्चे नक्सा चिनेन, तपाईंहरू किन चुपचाप ?



काठमाडौं, १५ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको सम्बन्धमा कुरा उठाउनुपर्ने बताएका छन् ।
‘पहिलो कुरा त नेपालको नक्सालाई चुच्चे नक्सा भन्नु उपयुक्त हुँदैन । यो नेपालको पूर्ण नक्सा हो । यो सुगौली सन्धिले तय गरेको नक्सा हो । कुनै मुलुकले चिनेन भन्ने हामीले कुरा उठाउनुपर्छ । कुनै पनि मुलुकको हस्तक्षेप र अपमान हामीलाई स्वीकार्य हुँदैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । नेता पोखरेलले भारत र चीनका प्रधानमन्त्रीबीचको संयुक्त वक्तव्यपछि आफ्नो पार्टीको विदेश विभागले सात वर्ष अगाडि नै चिनियाँ राजदूतलाई ज्ञापनपत्र दिएको स्मरण पनि गरे ।
साथै उनले एमसीसी कार्यान्वयनमा जानु दूरगामी दुर्भाग्य हुने दाबी गरे । पोखरेलले भने, ‘प्रधानमन्त्री प्रचण्डले एमसीसीको विरोध गर्नु वा नगर्नु भन्नुभएको छैन । तर एमसीसी नेपालको अराष्ट्रिय हित अनुकूल छैन । यसको उत्पत्ति नै चीनको विरुद्धमा इन्डो-प्यासिफिक रणनीति मातहत सैनिक गठबन्धन हुने किसिमले रणनीति उपयोग गर्न भएको हो ।’ बीआरआईमा नेपालले तीनपटक हस्ताक्षर गरिसकेकाले यसको कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । साथै पोखरेलले महँगी नियन्त्रण र जनताका निम्ति सरकारले राहत प्याकेज ल्याउनुपर्ने औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot