काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेको भूतबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा एमालेभित्र ठूलो धाँजा फाटेको भन्दै अब विस्फोट हुन लागेको टिप्पणी गरेपछि एमाले नेता रिजालले त्यसको जवाफमा प्रधानमन्त्री दाहाल एमालेको भूतबाट आक्रान्त बनेको जवाफ फर्काएका हुन् ।
उनले प्रधानमन्त्री दाहालले नेतृत्व गरेको समाजवादी मोर्चालाई कथित मोर्चाको संज्ञा दिएका छन् । प्रधानमन्त्री प्रचण्ड आफ्नै कार्यकर्ताले पनि नपत्याउने भएपछि एमालेको नाम लिएर भाषण बिकाउने अवस्थामा पुगेको उनको आरोप छ ।
उनले फेशबुकमा लेखेका छन्–
मार्क्स-एंगेल्सले कम्युनिस्ट घोषणापत्रको पहिलो वाक्यमै ‘आज सारा युरोप कम्युनिस्टको भुत (Spectre of Communism) बाट आक्रान्त छ’ भने जस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल आज जता गए पनि ‘एमालेको भुत’ बाट आक्रान्त देखिनुहुन्छ । कथित समाजवादी मोर्चा बनाए पनि, दक्षिणपन्थी/बुर्जुवा कांग्रेसको शरणमा परे पनि, बाहिरियाहरूका लागि ‘कम्फर्टेबल’ भए पनि नेकपा (एमाले) सँग नसकिने भएपछि र आफ्ना कार्यकर्ताले पत्याउने कुनै एजेन्डा नभएपछि एमालेको नाम लिएर भाषण बिकाउने अवस्थामा पुग्नुभएको छ । एमालेमा बिग्रह होला र आफ्नो पार्टी बलियो होला भन्ने कल्पना आफैंमा परपीडक मानसिकता त हो नै, नत्र आफ्नो पार्टीको भविष्य छैन भन्ने स्वीकारोक्ति पनि हो ।
खेलोफड्कोबाट ३२ सिटले सरकारको नेतृत्व गर्न पाए पनि ०६४ यताका हरेक चुनावमा तीब्र गतिमा ओरालो लागिरहेको माओवादीलाई आफ्नै बुतामा चुनाव लडेमा २०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न मुश्किल छ ।