सिमकोट (हुम्ला), १५ भदौ । जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ ।
यहाँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष महत्वका साथ साउन पूर्णिमा पर्वलाई मनाउने गर्दछन् । जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्य कहलिएको यो पर्वमा युवा युवतीका लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडका रूपमा यो पर्व चिनिने गरेको छ ।
हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामका साथ मान्ने चलन छ । जिल्लाका अन्य तीर्थस्थलमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने यो पर्व सिमकोटमा त्रियादशीका दिनदेखि एक हप्तासम्म मनाउने चलन छ ।
नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ । नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाच्ने) गरेको पाइएको छ । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउनेलगायतका अद्भूत कार्यसमेत देखाउने प्रचलन छ ।
जिल्लाका सात वटै स्थानीय तहबाट सिमकोटमा मेला भर्नेको हजारौँ सङ्ख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाइ पूजाआजा गर्ने र अपराह्नतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको सिमकोट डाँडाफयाका वीरमान सिंहले बताउनुभयो । युवायुवतीले डेउडा खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गरेको सिंहले बताए ।
उनका अनुसार डेउडा खेल्दा खेल्दै गीतको माध्यमबाट मायाको भाव गीतबाट नै व्यक्त गरी कति युवा विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् । हिन्दूको चाड भएको भए पनि यो पर्व मनाउनका लागि बौद्ध धर्मावलम्बीले पनि सौहाद्रता स्वरुप समर्थन गर्ने गर्दछन् ।
विशेष गरी आन्तरिक र बाह्य पर्यटकका लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ । स्थानीय पसलमा पनि लाखौँको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्य वस्तुलगायत सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ ।
स्थानीय व्यापारीलाई सामान बेचबिखनका लागि भ्याइनभ्याइ नै हुने गरेको छ । वर्षमा दशैँ र तिहारमा देशका अन्य भागमा व्यापारिक चहलपहल निक्कै बढ्ने गरेको भए पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा व्यापारिक चहलपहल हुने गरेको छ । यही मौका पारेर स्थानीय व्यापारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर जहाज रिजर्व गर्ने गरेका छन् । यो मेलामा सुनका गरगहनादेखि लिएर कपडासम्मको व्यापार व्यवसाय राम्रो हुने गरेको छ ।
यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर, तल्लो बजारमा रहेको बाडपाल मन्दिर, ठेहे गाउँको रामपाल मन्दिरलगायत अन्य गाउँका सबैजसो शक्तिपीठमा धुमधामका साथमा मनाउने प्रचलन रहेको छ । रासस