Logo

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा



उलानबटार, १५ भदौ । पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुगेका छन् ।

बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ ।

अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गरेका थिए । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गरेका उनलाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गरेका थिए ।

विमान उडेको केही बेरमा आफूसँगै रहेका पत्रकारहरूसँग मङ्गोलियाको विशाल भूभाग तर कम जनसङ्ख्या भएको देशबारे अनुमान गर्न सकिने बताउँदै कूटनीति भने गाह्रो कर्म भएको उल्लेख गरे । कहिलेकाँही कूटनीतिमा हास्यको भावना पनि चाहिने उनले बताए ।

चिनियाँ हवाई क्षेत्र पार गरेर मङ्गोलिया आउनुभएका पोपले चिनियाँ राष्ट्रपति सी चीनफिङलाई टेलिग्राम सन्देश पठाएर अभिवादनसहित उनीप्रति शुभकामना व्यक्त गरेका छन् । चीनको हित, शान्ति र एकताका लागि ईश्वरीय आशीर्वादको प्रार्थना गरेको उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा कजाकिस्तानको भ्रमणपछि पोप फ्रान्सिसको यस क्षेत्रमा भएको यो दोस्रो भ्रमणको भूराजनीतिक एवम् रणनीतिक महत्व छ । यो भ्रमणलाई मङ्गोलियाको कमजोर लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रोत्साहन गर्ने र गिर्जाघरलाई देशका विभिन्न भागमा सहज प्रवेश गर्न सघाउने विश्वास गरिएको छ ।

मध्य एसियाप्रतिको होली सी दृष्टिकोण तथा रूस र चीनसँगको सहकार्यलाई निरन्तरता दिने नीतिका रुपमा बुझ्न क्याथोलिक धर्मका विद्वान् मिशेल च्याम्बोनले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot