Logo

राम्रो काम गर्दागर्दै राजनेताहरूको राक्षसीकरण नगरौं : माओवादी नेता



काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको कुरा उठ्ने बताएका छन् ।
‘चीनले सार्वजनिक गरेको नयाँ नक्सामा हाम्रो चुच्चे नक्सा राखेन । त्यो राम्रो भएन । प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा यो कुरा प्राथमिकता र सक्रियतासाथ उठाउनुहुन्छ । कूटनीतिक पहलमार्फत चीनले हाम्रो चुच्ने नक्साको सम्मान गर्नुपर्छ,’ उनले भने ।
नेता सापकोटाले चीनले तातोपानी नाका खुलाए पनि कतिपय व्यवस्थापकीय कुरा मिलाउन बाँकी रहेको बताए । उनले भने, ‘हिजो १०८ जना चिनियाँ नागरिक आउनुभयो, अध्यागमन विभागको पास लिएर १६० जना नेपाली चीनतिर जानुभयो । अहिले पारिपट्टि १० पसल ३, ४ रेस्टुरेन्ट खुलेका छन् । वारि ३, ४ वटा पसल चलेका छन् । हामी यसलाई क्रमिक रुपमा सुधार गर्दै जान्छौं । अब मितेरी पुल खुलेको छ ।’
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले आन्तरिक र सार्वजनिक रुपमा सबै खाले भ्रष्टाचारमा संलग्नलाई कारबाही हुन्छ भनिसकेकाले शंका नगर्न पनि उनको आग्रह छ । उनले भने, ‘हाम्रा पार्टीका नेता कार्यकर्ताको सुनकाण्डमा संलग्नता भएको भनी कति कुरा आएका छन् । ती कति तथ्य निकट हो ? आएका विषय नेपाली प्रहरीले दबाब र प्रभाव बिना काम गरोस् । दोषी ठहरिए कानुनले कसैलाई उन्मुक्ति दिँदैन ।’
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराईको ललिता निवकास प्रकरणमा दोषी नभएको पनि सापकोटाको जिकिर छ । उनले भने, ‘उहाँहरुले नीतिगत निर्णय गर्नुभएको हो । उहाँहरुलाई कारबाही गर्ने हो भने अहिलेसम्म ककसले बाटो खन्न दिए, ती सबैलार्ई समात्नुपर्ने हुन्छ । राम्रो काम गर्दागर्दै राजनेताहरूको राक्षसीकरण गर्नु भएन । दोषी उम्कने, निर्दोषले दुःख पाउने स्थिति आउनुहुन्न । त्यसो गर्दा राज्यआतंक सिर्जना हुन्छ ।’
आजबाट पार्टीको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान तीन महिने अभियान सुरु भएको पनि उनले बताए । सापकोटाले भने, ‘पार्टीको आठौं महाधिवेशनपछिको चौथो बैठकले पार्टीपंक्ति जनतातिर कम फर्किएको महसुस गरीे जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान ६७४३ वटै वडामा सुरु भएको छ । त्यस क्रममा ८ लाख पार्टी सदस्यता वितरण र २५ लाख मतदाता भेट्ने कार्यक्रम छ ।’
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने अभियान सदस्यता काट्ने, भाषण गर्ने अभियान नभई जनताको सुखदुःखमा साथ दिने अभियान भएको पनि उनले औंल्याए । सुशासन, समृद्धि र समाजवादलाई लक्ष्य बनाएर सरकारले काम गरिरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot