Logo

प्रचण्डजी, माग्ने मनस्थितिमा चीन नजानोस् : डा. लोहनी



काठमाडौं, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग राष्ट्रिय स्वार्थका कुरा राख्न हिचकिचाउनु नहुने औंल्याएका छन् ।
‘चीन जाँदा प्रधानमन्त्रीले चुच्चे नक्साको मात्र होइन, कालापानीको कुरा पनि राम्रो सित कुरा गर्नुपर् यो । अस्ति भारत जाँदा वातावरण बिग्रन्छ भनेर ईपीजी, सीमा समस्याबारे बोल्दै बोल्नुभएन । नेपालको राष्ट्रिय हितका कुरा भाषागत शिष्टता र मर्यादापूर्वक राख्न गाह्रो मान्नुहुदैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
भारत र चीनसँगको सम्बन्ध राष्ट्रिय स्वार्थको परिवेशमा सन्तुलित हुनुपर्ने डा. लोहनीले बताए । यसपटक प्रचण्डले चीनसँग ट्रान्समिसन लाइन र ४०–५० हजार मेगावाट बिजुली किन्ने समझदारी गरेर आउनुपर्नेमा उनको जोड छ । डा. लोहनीले थपे, ‘अब नेपाल र चीनको बीचमा व्यापार अभिवृद्धि गर्नुपर्छ । टोखा–छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–त्रिशूली, तातोपानी सडक स्तरोन्नति गरी चार लेन बनाउनु समझदारी गर्नुपर्छ ।’
आफ्नो देशको स्वार्थमा बोल्न सक्ने शक्तिलाई नै विदेशीले सम्मान गर्ने उनले बताए । डा. लोहनीले भने, ‘प्रचण्डजी चीन जाने भन्ने बित्तिकै झोलामा के के न हालिदिन्छ भनेर माग्ने मनस्थितिमा जानुहुँदैन । दस, पाँच वा दुई जति रुपियाँ दिए पनि टोपी थाप्ने मनस्थिति पटक्कै राख्नुहुँदैन । हामी माग्ने होइनौं । त्यसो गर्नुभयो भने तपाईंलाई उनीहरुले मान्दैनन् ।’
पूर्वपरराष्ट्रमन्त्री डा. लोहनीले चीनको विरुद्ध भारतलाई, भारतको विरुद्ध चीनलाई प्रयोग गर्ने कच्चा काम गर्न नहुने पनि औंल्याए । उनले भने, ‘भारतले नाकाबन्दी गर्दा (केपी) ओलीजी चीन गएर पारवहन सम्झौता गरेर आउनुभो, भारतसित कुरा मिलेपछि बिर्सिनुभयो । नेपालका नेताहरु भारतलाई तर्साउन चीनतिर ढल्किए । चीनको विरुद्ध भारतलाई, भारतका विरुद्ध चीनलाई प्रयोग गरे । ठूलठूला राष्ट्रबीच बसेको सानो मुलुकले यस्तो कच्चा काम गर्नुहुँदैन ।’
अर्को प्रसंगमा उनले प्रधानमन्त्री प्रचण्डसँग ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दोषी होइनन् भन्ने फर्मान जारी गर्ने अधिकार नभएको जिकिर पनि गरे । उनले भने, ‘कोही व्यक्ति निर्दोष हो वा होइन भन्ने अधिकार प्रधानमन्त्री वा सीआईबीलाई छैन । यो कुरा त अदालतले पो भन्ने हो । छानीछानी यसलाई मुद्दा लगाउने, यसलाई नलगाउने भन्नुहुन्छ र अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकारीलाई भटाभट सरुवा गरिदिनुहुन्छ भने जनताले कसरी विश्वास गर्छन् ?’
आफ्नो पद रहे रहोस् नरहे नरहोस्, म यति काम गर्छु भनेर निर्णय लिन पनि प्रचण्डलाई डा. लोहनीको सुझाव छ । पहिलेका क्रान्तिकारी भनिएका नेताहरुले भोलिको देश हाँक्ने आफ्नो छोराछोरीलाई जसरी पनि पैसा कमाउनुपर्छ भन्ने शिक्षा दिएको देख्दा आफूलाई दया लागेको पनि उनले बताए ।
राप्रपा संघ र प्रदेश सरकारमा जान लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङजीलाई मैले टेलिफोनमा सोध्दा केही समझदारी भएको छैन भन्नुभयो, पार्टी अध्यक्षले पनि एयरपोर्टमा त्यही भन्नुभएको छ । त्यसैले गठबन्धनसँग लेनदेनको कुनै कुरा भएको छैन नै भन्छु म ।’



प्रतिक्रिया दिनुहोस्