Logo

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउन तात्तिए प्रभु साह, आज झलनाथ खनालसँग भेटवार्ता



काठमाडौं, १६ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्। साहले गौर हत्याकाण्डलगायत समसामयिक विषयमा नेता खनालसँग कुराकानी भएको जनाएका छन् ।

नेता खनालको डल्लुस्थित् निवासमा भएको उक्त भेटवार्तामा आजपाका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेपनि सहभागी थिए । सो अवसरमा नेता खनालले गौर हत्याकाण्डको फाईल खुल्नुपर्ने र पीडितहरुले न्याय पाउनुपर्ने धारणा राखेको अध्यक्ष साहले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

पछिल्लो समय साहले गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाएर छाड्ने उद्घोष गरेका छन् । उनले १७ वर्ष भैसक्दापनि पीडितले अझैसम्म न्याय नपाउनु देशकै कानूनी शासनमाथिको प्रश्न भएको बताउँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डका पीडितलाई भेटेर न्याय दिलाउने प्रतिबद्धता जनाएका थिए । त्यसको केही दिनमै सरकारले पीडितसँग पाँच बुँदे सहमति पनि गरेको छ।

सहमतिपछि पीडितहरु न्याय पाउनेमा ढुक्क थिए । तर, सत्ता गठबन्धनको बैठकमा गौर हत्याकाण्डलाई अघि नबढाउनेबारे छलफल भएको कुरा बाहिर आएपछि भने पीडितहरु आक्रोशित छन् । प्रभु साहले त प्रधानमन्त्री प्रचण्डले कुर्सी बचाउनको लागि पीडितहरुलाई न्यायको आश्वासन दिएर गठबन्धनको नाममा केही दलसँग सम्झौता गरेको आरोप लगाएका छन् ।

हिजोमात्रै साहले सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेटवार्ता गरेका थिए । उनको उक्त भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गौर हत्याकाण्डको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा पनि रिट निवेदन परेको छ ।

आजपा अध्यक्ष प्रभु साहले भेटे प्रधानन्यायाधीश श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्