काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली जनता यतिवेला निराशाबाट विद्रोहको अवस्थामा पुगिसकेको बताएका छन् । उक्त विद्रोहले एउटा नायक खोजिरहेको पनि उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘त्यो नायक, सायद अब परम्परावादी शक्तिलाई जनताले अब अस्विकार गर्दै गएको अवस्था छ । त्यो नायक कोही पनि हुनसक्छ । भोलि एउटा भिडलाई लिएर नेतृत्व गरेर हिँड्नसक्ने नायक आईदियो भनेदेखि भोलिको अवस्था मैले गम्भीर देखेको छु ।’ उनले अहिले राष्ट्रिय चरित्रमा देशभक्तिको अभाव देखिएको पनि टिप्पणी गरे । राजनीतिक अस्थिरता हुनु देशको लागि अभिषाप भएको उनको भनाई छ ।
नेता खड्काले भ्रष्टाचारको विषयमा आफू निडरताको साथ अघि बढेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले भनेको स्मरण गराए । उनले तत्काल सरकार नढल्ने पनि दाबी गरे । तर, गठबन्धनको सरकार टालटुल गर्दै जाने पनि उनको भविष्यवाणी छ । सरकारले डेलिभर गर्न नसकेको पनि उनको आरोप छ।
अहिलेको सत्ता गठबन्धनमा भोलि असमझदारी बढ्यो भने कांग्रेस र एमालेबीच पनि सत्ता–सहकार्य हुनसक्ने उनको दाबी छ । उनले भने,‘अहिले हामी गठबन्धनमा भएको कारणले कतिपय साना तिना दलहरुलाई पनि खुशी पार्नुपर्यो । हामी मेन पार्टी हौं, हाम्रो त उहाँहरु (प्रचण्डजी) ले कुरा सुन्नैपर्छ, भोलि राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले पनि मिल्न सकिन्छ । मेरो चाहना त यही गठबन्धनको सरकारको स्थायित्व हो ।’
खड्काले अहिले अघि आएका भ्रष्टाचारका मुख्य विषयहरुलाई प्रधानमन्त्री दाहालले किनारा लगाउन सके उनलाई राजनीतिक रुपमा अघि बढ्न पनि सजिलो हुने टिप्पणी गरे ।