Logo

बालेनको नगरका वडाध्यक्ष नै भूमाफियाको संरक्षक भएको खुलासा (भिडिओ–रिपोर्टसहित)



काठमाडौं । सार्वजनिक जग्गा संरक्षणका लागि डोजर डुलाउँदै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नगरका वडाध्यक्ष नै भूमाफियाको संरक्षक रहेको खुलासा भएको छ ।

प्राइम टाइम्स टेलिभजद्वारा प्रस्तुत हुने कार्यक्रम खबर अन्वेषणले उक्त खुलासा गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर१० का वडाध्यक्ष रामकुमार केसी भूमाफियाको संरक्षकजस्तो देखिएको उक्त कार्यक्रमले खुलासा गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा भवन नै अतिक्रमणमा पर्दा समेत वडाध्यक्ष केसी टुलुटुलु हेरेर बसेको तथ्य खबर अन्वेषणले सार्वजनिक गरेको हो । ठेकेदार कृष्ण गौतम, यशोदा चुडाललगायतले वडा भवन रहेको सरकारी/सार्वजनिक जग्गा हडप्दा पनि उनले अतिक्रमण हटाउन चासो नदिएको पाइएको छ ।

देवीनगरमा इन्द्रकुमार चाम्लिङ, हेमराज घिसिङ, युवराज प्रसाई, प्रतिमा मल्ल, नारायण गौतमलगायतले हडपेको जग्गा रेखाङ्कन गरेर पनि वडाध्यक्ष केसीकै मिलेमतोमा पूर्ण रुपमा अतिक्रमण नहटाइएको पाइन्छ । कार्यक्रम खबर अन्वेषणले उक्त कुरालाई विशेष खुलासा गरेको हो ।

देवीनगरमा सरकारी जग्गा मिचेर आधा दर्जन घर निर्माण गर्ने इन्द्र चाम्लिङ कांग्रेस नेता एवं पूर्व सांसद मोहनकुमार राईका भिनाजु भएकाले वडाध्यक्ष केसीले संरक्षण गरिरहेको स्थानीयको आरोप छ । चाम्लिङले अतिक्रमण गरेर बनाएका केही संरचना भत्काए पनि मुख्य संरचना हटाउन वडाध्यक्ष केसी तयार देखिँदैनन् ।

यसले उनको सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन दोहोरो भूमिका रहेको उजागार भएको छ । नयाँ बानेश्वरमा रहेको महिला आदर्श सेवा केन्द्रले सरकारी जग्गा अतिक्रमण गरेर बनाएको संरचना पनि अहिलेसम्म भत्किएको छैन । काठमाडौं महानगरपालिका, जिल्ला अदालत र उच्च अदालतले हटाउन आदेश दिएपनि वडाध्यक्ष केसी महिला आदर्श सेवा केन्द्रको पक्षमा उभिएका छन् ।

हेर्नुहोस् खबर अन्वेषण कार्यक्रम



प्रतिक्रिया दिनुहोस्