काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १६५ निर्वाचन क्षेत्रमै हुने सभा पार्टीकै समग्र हितमा रहेको बताएका छन् ।
‘जेठ ११ बाट सुरु भएको पार्टी रुपान्तरण अभियान सातै प्रदेश र डायस्पोरामा भए । केन्द्रीय समिति बैठकमा यसबारे पार्टी नेतृत्वले सोधुपछसम्म गरेन । पार्टी सभापतिले भेट पनि दिनुभएन, चासो पनि देखाउनुभएन । भदौ २४ बाट हुने सभा पार्टीकै समग्र हितमा छ । यसले पार्टी नेतृत्वलाई कमजोर पार्ने होइन बरु सही बाटोमा हिँडाउन सक्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कांग्रेसभित्र एकपछि अर्को बेथिति र अव्यवस्था, विधिविहीनता, नीतिविहीनतामा पार्टी सभापति नै जिम्मेवार हुने घिमिरेले औंल्याए । उनले भने, ‘शेरबहादुर देउवाभन्दा अगाडि वा पछाडि जो नेता आए पनि व्यवस्थापनको जिम्मेवारी सभापतिकै हुन्छ । नेतृत्वको प्रभावकारी भूमिकाले कार्यकर्तामा उत्साह पैदा हुन्छ । सुझबुझ भएको नेताले हाम्रो अभियानलाई विरोध वा आलोचना गरेको रुपमा लिँदैन । हाम्रो कारण पार्टीको स्थिति खलबलिँदैन । यो अभियान रोकिँदैन, निरन्तर रहन्छ ।’ पुरानो नेतृत्वको विस्थापनमा जोर लगाउनै नपर्ने उनको दाबी छ ।
सभापति देउवाले ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग अहिलेसम्म अलपत्र राखेर पार्टी विधानको उल्लंघन गरेको आरोप पनि उनले लगाए । उनले भने, ‘पार्टी विधानमा ६ महिनाभित्र गर्ने भनेर लेखिएको छ तर बल्ल काम सुरु गरे । विभागमा आउने पार्टीकै नेताहरु हुन्, मलाई केही भन्नु छैन । तर यो विधानको सरासर उल्लंघन हो । यसको अक्षरशः पालना गर्नुपर्छ ।’
कोशी प्रदेशमा सरकार गठन गर्दा पटकपटक संविधानको उल्लंघन भएको पनि उनले बताए । घिमिरेले भने, ‘लोकतन्त्र र विधिको शासनका निम्ति आठ दशक लडेको पार्टीले नै विधि र संविधानको उल्लंघन गर्न सुहाउँछ ? जे गरे पनि हुन्छ हामीले ?’