Logo

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा



कटारी (उदयपुर), १७ भदौ । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् । “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता रहेछ, त्यही भएर सिकिरहेकी छु”, उनले भने, “सिक्न त सिकेँ घरमा बोल्ने मान्छे छैनन् कोसँग बोल्ने ।”

मुनामात्रै होइन कटारी–३ का टुपेन सुनुवारले पनि अहिले सुनुवार भाषा सिकिरहेकी छिन् । आफ्नो भाषा हराउँदै गएपछि भाषा सिक्न आवश्यक भएकाले भाषा सिक्न थालेको उनले बताइन् । कटारी–३ कै शुभद्रा सुनुवार विद्यार्थी हुन्, उनी पनि सुनुवार भाषा सिकिरहेकी छिन् ।

उनीजस्ता ४० युवा तथा बालबालिकालाई सुनुवार मातृ भाषा सिकाउन सुनुवार सेवा समाज नगर समिति कटारीले कक्षा सञ्चालन गरिरहेको छ । “चार महिनादेखि प्रत्येक शनिबार सुनुवार भाषा सिकाउने कक्षा सञ्चालन गरिहेका छौँ”, समाजका अध्यक्ष तिलक सुनुवारले भने, “भाषा जोगाउन निःशुल्क कक्षाको आयोजना गरेर सिकाइरहेका छौँ ।”

यसका लागि अध्यक्ष सुनुवारसँगै सुनवार भाषाबारे जानकार पाण्डव सुनुवारले सहजीकरण गरिरहेका समाजका कोशी प्रदेश उपाध्यक्ष सन्तबहादुर सुनुवारले बताए । “जातिको पहिलो पहिचान भनेको भाषा हो, भाषा नै हराउने भएपछि हामी लागिपरेका हौँ”, उनले भने, “अहिले त धेरैजना सामान्य बोलचाल गर्न सक्ने भइसकेका छन् ।”

बसोबासका क्रममा थातथलो छाडेर अन्यत्र सरेसँगै सुनुवारको नयाँ पुस्ताले भाषा बोल्न नसक्ने भएपछि भाषा जोगाउन कक्षा नै सञ्चालन गरेको पनि उपाध्यक्ष सुनुवारले बताए । प्रदेश र देशभरिकै सुनुवार बस्तीमा भाषा सिकाउन आवश्यक रहेको पनि उनको भनाइ थियो ।

नेपालमा जनगणना २०७८ अनुसार सुनुवार जातिको सङ्ख्या ७८ हजार नौ सय १० रहेको छ । यो कुल जनसङ्ख्याको शून्य दशमलव २७ प्रतिशत हो । सुनुवार जातिको बसोबास रामेछाप, दोलखा, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सर्लाहीमा रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot