Logo

प्रचण्डजीको काममा हामीलाई चित्त बुझेको छैन, खुसी छैनौं : कांग्रेस सांसद



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काम कारबाहीमा आफ्नो पार्टीका सांसदहरु खुसी नभएको बताएका छन् ।
‘प्रचण्डजी माओवादीको अध्यक्ष मात्र होइन, उहाँ त देशकै प्रधानमन्त्री हो नि । उहाँ नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको पनि मत लिएर प्रधानमन्त्री हुनुभएको हो । हामी पनि उहाँहरुसमेतको मत लिएर सांसद भएका हौं । तर सरकारले सुशासनका पक्षमा काम गरेर आम जनतामा आशा जगाउन सकेको छैन । व्यक्तिगत रुपमा हामीलाई चित्त बुझेको छैन, खुसी छैनौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता गौतमले तत्काल सरकारको विकल्प नखोजे पनि अपयशको भारी कहिलेसम्म बोक्ने भन्ने प्रश्न गरे । उनले थपे, ‘अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रथम कुरा हो । तर प्रचण्डजी कहिले एमसीसीको विरोधमा बोलिदिनुहुन्छ, कहिले जातीय संघीयताको पक्षमा बोल्नुहुन्छ, कहिले भ्रष्टाचारमा उन्मुक्ति दिएँ भन्नुहुन्छ । यो राम्रो कुरा होइन । हामी उहाँको छायाँजस्तै सँगसँगै छौं नि । यस्तो अपयशको भारी कहिलेसम्म बोक्न सकिन्छ भन्ने बारे प्रचण्डजीले सोच्नुपर्छ ।’
अर्को प्रसंगमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति गलत भएको बताए । उनले भने, ‘हो, लोकतन्त्रमा वाक् स्वतन्त्रता हुन्छ तर त्यसको पनि सीमा हुन्छ । बालेनको अराजकता ठीक हो भन्ने प्रश्नै छैन । मेयरले आफ्नो हैसियत बुझ्नुपर्छ । छोटे राजनले जस्तो कुरा गर्नु राम्रो हुँदैन । जिम्मेवारी मान्छेका यस्ता अभिव्यक्तिले आम जनतामा निराशा पैदा हुन्छ । भीड त रत्नपार्कमा चटकेको वरिपरि पनि हुन्छ नि ।’



प्रतिक्रिया दिनुहोस्