Logo

‘नेपाल र भारतको आन्तरिक मामिलामा चीनलाई बोल्ने अधिकार छैन’ (भिडिओसहित)



काठमाडौं, १९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं सांसद सर्वेन्द्रनाथ शुक्लले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जनतालाई सुशासनको अनुभूति दिन असफल रहेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीले जनताको बीचमा जाँदा मैले काम गरेको छैन भन्ने कुरा भएन । नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुनकाण्डमा सरकारले केही काम सुरु गरे पनि अहिले सुस्तता देखिएको छ । कुनै पनि काम सुरु भएपछि त्यसलाई पूर्णता दिनुपर्छ । परिणाम नआएसम्म जनताले अनुभूति गर्दैनन् । जनता सरकारको काम कारबाहीबाट सन्तुष्ट छैनन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय र कूटनीतिक निकायले बोल्नुपर्ने नेता शुक्लले औंल्याए । उनले थपे, ‘चिनियाँ राजदूतले नेपालको विकासका लागि भारत बाधक वा भारत जस्तो छिमेकी हुनु नेपालको दुर्भाग्य भन्ने मैले सुनेको छैन । यदि भन्नुभएको हो भने त्यो चीनको अधिकार क्षेत्रभन्दा बाहिर छ । चीनसँग त्यसो भन्ने अधिकार छैन ।’

भारतसँगको मित्रता चीनले भनेर बढ्ने वा टुट्ने हुनै नसक्ने पनि शुक्लले बताए । उनले भने, ‘खुला सिमाना भएकाले केही समस्या भयो भने बसेर कुरा गर्न सकिन्छ । यो नेपाल र भारतबीचको आन्तरिक मामिला हो । यसमा न चीनले बोल्न मिल्छ, न त रुस र अमेरिकाले बोल्न मिल्छ । कोसँग मित्रता गर्ने, कोसँग नगर्ने कसैले तोकेर हुन्छ र ?’ एसिया कपमा नेपाली क्रिकेट खेलाडीले अति उत्कृष्ट प्रदर्शन गरेको शुक्लको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्