काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी अहिले सरकार ढाल्ने खेलमा नलागेको स्पष्ट पारेका छन् । उनले आफूहरुलाई सरकार ढाल्ने रुचि नै नभएको पनि स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् ।
उनले अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्ने र एमालेसँग मिलेर सरकार बनाउने कुरा कांग्रेसजनहरुबाट नै बढि आएको जिकिर गरे । उनले भने,‘यो सरकार, खासगरी प्रचण्डजीलाई बदल्नुपर्छ । पार्लियामेन्टभित्र, बाहिर बोलिरहनुभएको छ धेरै । कांग्रेसका नेताहरुले बोलिरहनुभएको छ भने उहाँहरु नै काफी हुनुहुन्छ । हामी त्यसमा लाग्नै पर्दैन् ।’
पाण्डेले अब एमाले र कांग्रेसबीच सहकार्य हुनुपर्छ र गए राम्रो हुन्थ्यो भन्ने आफ्नो सुरुदेखिको धारणा रहेको उनको भनाई छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पाँचै वर्षको प्रधानमन्त्री बनेर कुन बलले भनेको भनेर प्रश्न पनि गरे । उनले प्रधानमन्त्री प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री भन्दा कांग्रेसजनले थाहा पाउनुपर्ने टिप्पणी गरे ।
उनले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच सहकार्यको सम्भावना नरहेको जिकिर गरे । उनले ओली र प्रचण्डबीच सहकार्यको सम्भावना आफूले नदेखेको दाबी गरे ।