Logo

विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरुले घोषणा गरे ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा’, विशाल पार्टी निर्माण गर्ने लक्ष्य



काठमाडौं, १९ भदौ । विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरुले ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’ को घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गणतन्त्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न मोर्चा घोषणा भएको स्पष्ट पारेका छन् ।

मोर्चामा शान्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल), लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मानध्वज गुरुङ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल, लक्ष्मण उप्रेती नेतृत्वको नेकपा रातो तारा, टंकनाथ पौडेल संयोजक रहेको नेकपा २००६, भगवती लुहागुन संयोजक रहेको नेपाल समृद्धि पार्टी दल सहभागी छन् ।

त्यसैगरी, मोर्चालाई माक्र्सवादी एकता अभियान नेपाल, जनसमाजवादी मञ्च, राष्ट्रिय जनसरोकार नेपाल, माक्र्सवाद तथा पुष्पलाल विचार मञ्च, प्रतिरोध जनअधिकार आन्दोलन, वैज्ञानिक समाजवादी मोर्चा र विभिन्न स्वतन्त्र व्यक्तिहरुको समर्थन रहेको बताइएको छ ।

मोर्चालाई समर्थन गर्ने स्वतन्त्र व्यक्तित्वहरुमा डा.मोहन खतिवडा, एकलाल श्रेष्ठ, डा. भगवानचन्द्र ज्ञवाली, टेकबहादुर विश्वकर्मा, नारायण शर्मालगायत रहेको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका अध्यक्ष लोकनारायण सुवेदीले बताए ।

अध्यक्ष सुवेदीले अहिलेको लोकतन्त्र सीमित खालको भएकाले यसले नेपाली जनताको समस्या हल हुन नसक्ने बताए । आम नेपाली श्रमजीवी जनताको मुक्ति र प्रगतिका निम्ति मोर्चा बनेको उनको भनाई छ ।

‘देशमा व्याप्त जनताका समस्याहरु र राष्ट्रका समस्याहरु जुन हल हुनुपर्ने थियो, हल भएन । यो व्यवस्था र अवस्था दुवैले त्यो हल गर्ने अनुमति पनि दिँदैन । किनभने यो सीमित खाल्को प्रजातन्त्र हो, सीमित खालको लोकतन्त्र हो । यसमा सीमित वर्गको स्वार्थ छ । आम नेपाली श्रमजीवी जनताको मुक्ति र प्रगतिका निम्ति एउटा ठूलो आन्दोलनको आवश्यकत्ता छ,’– अध्यक्ष सुवेदीले भने ।

अहिले नेपालमा राजा ल्याउनुपर्छ, गणतन्त्र हटाउनुपर्छ, समावेशीता हटाउनुपर्छ, चुनाव पद्धति नै हटाउनुपर्छ भन्ने प्रतिगमनका गतिविधिहरु भइरहेको उनको भनाई छ । देशको नेतृत्व गरिरहेका नेताहरुले बाह्य शक्ति राष्ट्रको चाकडीबाट मात्रै नेपाली जनताको समस्या समाधान हुन्छ भन्ने सोचेको उनको आरोप छ । देशको व्यवस्था परिवर्तनका लागि बलिदानी गर्ने सहिदहरुको समेत सरकार र नेताहरुले अपमान गरिरहेको उनले बताए ।

उनले नेपाली जनतालो गणतन्त्रको चरम दुरुपयोग भएको गुनासो गरिरहेको बताए । मोर्चा गणतन्त्र, राष्ट्रियता र जनताको पक्षमा रहेको उनको दाबी छ । आज घोषणा भएको मोर्चाको संयोजक भोलि (बुधबार) १ बजे बस्ने बैठकबाट चुनिने उनले बताए ।

त्यसैगरी, नेकपा (मशाल) का पोलिटव्युरो सदस्य कृष्ण पौडेलले देशको स्थितिबारे चिन्तित भएर मोर्चाको घोषणा भएको बताए । ठूला दलका नेताले आलोपालो गरेर सत्ताको नेतृत्व गर्ने प्रवृत्तिले नेपाली जनताको पराजय र विदेशी साम्राज्यवादी शक्तिहरुको विजय भइरहेको उनले बताए ।

‘२०४७ सालदेखि यताको करिब ३३÷३४ वर्षको यो अवधि र गणतन्त्र प्राप्तिपछिको झण्डै १७÷१८ वर्षको यो अवधिमा मुलुकलाई सबैभन्दा दयनिय अवस्थामा पुर्याउने काम शासक वर्गहरुले गरे । कथित ठूला दलका नेताले आलोपालो गरेर शासन गर्ने क्रममा आज विदेशी साम्राज्यवादी शक्तिहरु र नेपाललाई सबै प्रकारले ध्वस्त पार्न चाहने शक्तिहरुको विजय भएको छ र नेपाली जनताको हार भएको छ,’– उनले भने ।

नेपाली जनताले अहिलेकै दिन देख्नका लागि लोकतन्त्र र गणतन्त्र नचाहेको उनको दाबी छ । उनले नेपाली जनताले प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि राखेको उद्देश्य प्राप्त हुन नसकेको र आजका शासकहरुले देशनै रहने कि नरहने भन्ने अवस्थामा मुलुकलाई पुर्याएको बताए ।

उनले एमसीसी र विभिन्न भ्रष्टाचार प्रकरणको विरोध गरे । नेपाली जनताको मुक्ति आन्दोलनलाई अगाडि बढाउन मोर्चाको आवश्यकता परेको उनको भनाई छ । मोर्चाको उद्देश्य कार्यनीतिक रूपमा अगाडि बढ्ने र भोलिका दिनमा विशाल पार्टी निर्माण गर्ने रहेको पौडेलले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot