काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएका रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । रिजाललाई श्रद्धाञ्जली दिन महानगर प्रमुख शाह नगरप्रहरी प्रमुख राजु पाण्डेसहित केहिबेर अघि राष्ट्रिय सभागृह पुगेका हुन् । विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ । रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेका अनुसार रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको हो ।