काठमाडौं, २१ भदौ । खानेपानीमन्त्री महिन्द्र राय यादवले नेपाल र भारतबीच अद्धितिय सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै मजबुद बनाउने स्पष्ट पारेका छन्। उनले भने,‘नेपाल र भारतजस्तो सम्बन्ध विश्वमा कुनैपनि देशमा यस्तो सम्बन्ध छैन् । चीन पनि हाम्रो छिमेकी देश हो । चीनसँग पनि हामीले राम्रो सम्बन्ध राख्नुपर्दछ । अमेरिका पनि एउटा महाशक्ति नै हो । उसँग पनि सम्बन्ध राख्नुपर्छ । अमेरिकाले पनि नेपाललाई धेरै सहयोग गरेको छ ।’
उनले नेपाल आँफैमा सार्वभौमसत्ता सम्पन्न देश भएको उल्लेख गर्दै नेपाल अहिलेसम्म कसैको पनि गुलाम नभएको इतिहास स्मरण गराए । उनले भने,‘नेपाली जनताले आफ्नो शासन आँफै गरेका छन् । नेपालले सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भारतसँग नेपालको विशेष सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई मजबुद बनाउने स्पष्ट पारे । उनले नेपालले को सँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा नेपाल सरकारले तय गर्ने कुरा भएकोले हालै चिनियाँ राजदूतले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादाको विपरित रहेको टिप्पणी गरे ।
उनले भने,‘उहाँले बोलेको कुरा कुटनीतिक मर्यादाको विपरित छ । यसरी अर्काको देशको बारेमा बोल्न पाईँदैन् । नेपाल सरकारको अधिकारको कुरा हो । चिनियाँ राजदूतले आफ्नो मर्यादाको ख्याल गर्नुभएन ।’ उनले चिनियाँ राजदूतको दायित्व भनेको नेपाल र चीनबीचको सम्बन्ध हेर्ने भएको सम्झाए ।