Logo

उडान सुरक्षाबारे अध्ययन गर्न इयुको टोली आउँदै, यी दुर्घटना बन्न सक्छन् कालोसूचीबाट हटाउने प्रयासमा धक्का



काठमाडौं, भदौ २२ । कालो सूचीमा रहेको नेपालबारे पुनः विचार गर्न युरोपियन सङ्घ (इयु) को हवाई सुरक्षा कमिटी नेपालको हवाई सुरक्षा मूल्याङ्कन गर्न स्थलगत अनुगमन (अनसाइट एसेसमेन्ट भिजिट) मा आउने भएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गत वर्ष नेपालको हवाई सुरक्षामा पर्याप्त सुधार आएको निष्कर्ष दिए पनि इयुले भने नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ । गत वर्ष पनि नेपालको हवाई सुरक्षाबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको इयुको टेक्निकल कोअपरेसन टिम नेपाल आउने तयारी रहे पनि मिति भने यकिन भइसकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सेप्टेम्बर अन्तिमदेखि अक्टुबर पहिलो साताभित्र उक्त टोली स्थलगत अनुगमनका लागि नेपाल आउने तयारी रहेको छ । उनले भने, “स्थलगत अनुगमनका लागि इयुको टोली नेपाल आउने तयारी रहे पनि कहिले आइपुग्ने, कति जना आउने र कति समय नेपालमा रहने भन्नेबारे यकिन भइसकेको छैन ।

नेपालले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन सन् २०१३ यता हवाई सुरक्षामा राम्रो सुधार गरिसकेको र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रतिवेदनले समेत गत वर्ष नेपालको विस्तृत सुरक्षा परिपालन औसतभन्दा राम्रो देखाएकाले यस पटकको अनुगमनमार्फत पुनः विचार गर्नेमा आशावादी छौँ ।” उनले नेपाल आउने इयुको टोलीले अन्तर्राष्ट्रिय उडान गर्ने, आन्तरिक उडान गर्ने र आन्तरिकतर्फ दुर्गममा उडान गर्ने एक एक वटा हवाई कम्पनी छनोट गरेर अध्ययन गर्ने बताए ।

त्यस्तै टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत क्षेत्रको समेत अध्ययन गर्ने छ ।नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे अध्ययन गर्न आठ वर्षपछि गत वर्ष दसैँका दिन नेपाल आएको इयुको टोलीले असोज २० र २१ गते आफ्नो अध्ययन अनुगमन गरेको थियो ।

नेपालको विस्तृत सुरक्षा परिपालन दर ७०.१ प्रतिशत पुगेको, हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकोलगायतका कारण गत वर्ष नै इयु नेपालको हवाई सुरक्षाप्रति सन्तुष्ट हुने अपेक्षा गरिए पनि नेपालमाथिको प्रतिबन्ध लम्बिएको थियो ।

तर, गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना, गत चैत २५ गते काठमाडौँको ह्याम्स अस्पतालमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, त्यसको भोलिपल्ट चैत २६ गते धौलागिरि बेस क्याम्प नजिकै भएको एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना, वैशाख २१ मा सङ्खुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना र जेठ १५ गते मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटना, असार २६ गते सोलुखम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि इयुले गर्ने पुनर्विचारलाई चासोका साथ हेरिएको छ ।

सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना र सन् २०११÷१२ मा एक एक विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ गतेदेखि इयुले नेपाललाई कालो सूचीमा राख्दै आएको छ । इयुले त्यस्तो प्रतिबन्ध लगाउँदा आइकाओको प्रतिवेदनलाई आधार मानेको थियो ।

आइकाओले भने सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ । कालो सूचीका कारण हाल नेपाली वायुसेवा इयु अन्तर्गतका कुनै पनि देशमा जान पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्