Logo

माओवादी नेताको प्रतिवाद— आधा दर्जन पूर्वमन्त्री, आधा दर्जन पूर्वसचिवलाई जेल पठाउने गृहमन्त्री किन बदल्ने ?



काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले चिनियाँ राजदूत छन् सोङले कूटनीति मर्यादा भुलेर अभिव्यक्ति दिएको बताएका छन् ।
‘चिनियाँ राजदूतले बोलेको कुरा सत्य हो । तथ्य र प्रमाणका आधारमा बोल्नुभएको छ । विषयको अर्थ पनि गलत छैन । उहाँले बोलेको कुरा सत्य भए पनि राजदूतको मर्यादा भुल्न मिल्दैन । त्यसलाई राम्रो गर्नुभो, स्वागत गर्नुपर्छ भन्न सकिँदैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने, ‘एउटा देशको डिप्लोम्याटले दोस्रो देशका बारेमा बोल्दा के असर पर्छ ? राजदूतको सीमा के हुन्छ भन्ने बुझ्नुपर्छ । यसरी बोल्दा नेपाली जनतालाई तकलीफ हुन्छ, दुई देशबीचको दूरी बढ्छ, मित्रतामा चिसोपन आउँछ, मनोमालिन्य बढ्छ भने अर्को देशको राजदूतले त्यसरी नबोलेकै राम्रो । मित्रराष्ट्रको बोली, भाषा र लिखतले दुई देशबीचको सम्बन्धमा असर पुर् याउनु हुँदैन ।’
माओवादी नेता शर्माले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिनु वा नक्सामा नपार्नु राम्रो नभएको बताए । उनले थपे, ‘हाम्रो सार्वभौमसत्तालाई हाम्रो मित्रता भएका सबै देशले सम्मान गर्नुपर्छ । चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिनु वा नक्सामा नपार्नु राम्रो भएन । यसले नेपाली जनताको मनमा दुःख पुर् याउने नै भयो । यस्तो काम कहिलेकाहीं भूलवश, कहिलेकाहीं जानीजानी पनि छाडेको हुन्छ । नेपालले यसबारे चिनियाँ दूतावाससँग बुझ्ने कुरा हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल हुने दाबी पनि शर्माले गरे । भारतले चन्द्रयान पठाउन सम्भव भएको अवस्थामा चीनबाट तेल र रेल ल्याउन असम्भव नहुने पनि उनले औंल्याए । प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल ऐतिहासिक हुने दाबी पनि उनले गरे । शर्माले भने, ‘आठ महिनामा सरकारले एक हजारभन्दा बढी भ्रष्टाचारी, तस्कर, माफिया र गलत काम गर्ने व्यापारीलाई थुनिसक्यो । आधा दर्जन पूर्वमन्त्री जेलमा छन्, आधा दर्जन पूर्वसचिव जेल गइसके । सरकारले सुशासनको पक्षमा धेरै काम गरेको छ ।’
गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको पनि शर्माले बताए । उनले भने, ‘गृहमन्त्रीले राम्रो कामगर्नुभएको छ । जनताले वाहवाही गरेका छन् । उहाँ लोकप्रिय हुनुहुन्छ । हुन त उहाँले प्रधानमन्त्रीकै निर्देशनमा नै काम गर्नुभएको हो । यति राम्रो काम गर्दा उहाँलाई किन हटाउने ? नक्कली भुटानी शरणार्थी, मिटरब्याजी, ललिता निवास, सुन काण्डमा राम्रो काम गरेकाले हटाउने ? तत्काल नारायणकाजीको विकल्प छैन ।’
कोशी प्रदेशमा एक महिनाभित्र अर्को सरकार बनाउन तयारी थाल्नुपर्ने पनि माओवादी नेता शर्माले बताए । उनले भने, ‘सर्वोच्च अदालतको निर्णयलाई समर्थन वा विरोध भन्दा पनि मानेर जानुपर्छ । एक महिनाभित्र नयाँ सरकार बनाउने दिशामा बढ्नुपर्छ । संवैधानिक गल्ती दोहोर् याउनु हुँदैन ।’
संघमा बनेको गठबन्धन अनुसार नै सरकार बनाउनुपर्नेमा उनको जोड छ । शर्माले थपे, ‘कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बहस चलेको छ । संघको सरकार कांग्रेसकै कतिपय नेताहरुले मन पराएका छैनन् । संघमा गठबन्धनको सरकार भएपछि प्रदेशमा अरु कुरा सोच्नु हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्