Logo

दन्त सेवाले बिरामीलाई सजिलो



बलेवा (बागलुङ), २२ भदौ । बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो ।

एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताइन् । संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गरे ।

श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताए । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताए । “अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं”, श्रेष्ठले भने, “सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।”

दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्