Logo

कवि ऐरको कवितासङ्ग्रह बजारमा



काठमाडौं । कवि हिक्मतसिंह ऐरको कवितासङ्ग्रह ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा, कवितामय फन्को देशको’ लोकार्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा ऐरको सो कृति लोकार्पण गरेका हुन् ।

सो अवसरमा उनले कवितासङ्ग्रहमा राष्ट्रियता, प्रकृतिपे्रम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकाले नेपालको समग्र पर्यटन बुझ्ने आँखीझ्यालका रूपमा रहेको टिप्पणी गरेका थिए ।

पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कञ्चनपुरदेखि पूर्व हिमालको कञ्चनजङ्घाको आधारशिविरसम्म पुग्दाका अनुभूतिलाई कवि ऐरले कवितासङ्ग्रहमा प्रस्तुत गरेका छन् ।

कृतिको समीक्षा पनि गरिएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्व प्रशासक एवं पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सङ्ग्रह सिङ्गो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गर्दै भूस्वर्गका रूपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रवर्धनमा कवितासङ्ग्रह सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा साहित्यकार चेतनाथ कँडेल, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा. नवल त्रिपाठीलगायतले यस कवितासङ्ग्रहले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताएका थिए ।

यस कवितासङ्ग्रहमा कवितासँग सम्बन्धित ठाउँका चार दर्जनभन्दा बढी रङ्गीन तस्बिरहरू पनि राखिएका छन् । बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा नेपालका सातै प्रदेशका हिमाल, पहाड, तराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदा, मठमन्दिर, गुम्बा, चैत्य, खानपिन, रहनसहन एवं अन्य विशेषता वर्णन गरिएको छ । ऐर पर्यटनविद् हुन् ।



प्रतिक्रिया दिनुहोस्