काठमाडौं, २४ भदौ । बीपी कोइरालाको पुर्ख्यौली थलो हो, सिन्धुलीको कुशेश्वर, दुम्जा । बीपीका पिता कृष्णप्रसाद कोइराला पानीको समस्याका कारण आफ्नो थातथलो छाडेर विराटनगर बसाइँ सरेका थिए । तीन किलोमिटर तलबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो ।
दुम्जामा पानीको समस्या कोइराला परिवारका बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइराला गरी चार जना प्रधानमन्त्री हुँदा पनि समाधान हुन सकेन । पानीको समस्याको पूर्ण समाधान भइनसके पनि अहिले सहज हुँदै गएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइराला बताउँछन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कोइरालाले भने, ‘कोइराला परिवारको पुर्ख्यौली घर जिर्णोद्धार गरिरहेका छौं । छानो हाल्न मात्र बाँकी छ । बीपी पार्क बनाएर बीपीको सालिक राखिएको छ । संग्रहालय बन्दैछ, २५० जना अट्न हल पनि छ ।’
उपाध्यक्ष कोइरालाका अनुसार १२५ रोपनी क्षेत्रफलमा रहेको बीपी संग्रहालयमा हेलिप्याड, कृष्णप्रसाद कोइराला र गिरिजाप्रसादको सालिक राख्ने योजना छ । गुरुयोजना अनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न दुई-तीन वर्ष लाग्ने कोइरालाले बताए । उनका अनुसार कांग्रेस नेता अर्जुननरसिंह केसी सहरी विकास मन्त्री हुँदा यसको विस्तृत परियोजना (डीपीआर) तयार भएपछि कोइरालाको पुख्र्यौली थलोको विकासले गति लिएको हो । ‘गाउँपालिकाको बजेट ३०, ३२ करोड छ । त्यसले सबैथोक गर्नुपर्छ । बीपी पार्कका लागि पालिकाले खासै बजेट छुट्याउन सकेको छैन । तर पनि हामीले सकेको गरेकै छौं,’ उनले भने ।
बीपी राजमार्गबाट ६ किलोमिटर दूरीमा रहेको पुरानो थलो भए पनि ओझेल परेको कोइरालाको दुखेसो छ । कोइराला परिवारमा धेरै नेताहरु भए पनि उनीहरु पनि आकलझुकल मात्र पुग्छन् । पुख्र्यौली थलोमा कांग्रेसका ठूला नेताहरु पनि खासै पुग्दैनन् । उनले सुनाए, ‘हिजो बीपीपुत्र डा. शंशाक कोइराला आउनुभएको थियो । उहाँसँग एकछिन भलाकुसारी भयो । कोइराला परिवारका डा. शेखर कहिलेकाहीं आउनुहुन्छ, सुजाता अलि कम आउनुहुन्छ ।’
सुन्दरीजलको बीपी संग्रहालयका परशुराम पोखरेल सधैंजसो आउने गरेको उनले बताए । कांग्रेसले बीपीको सिद्धान्त बिर्सिरहेको विषयमा आत्मालोचना र मनन गरेर जानुपर्ने उनको धारणा छ । हाल दुम्जामा ६० घर कोइराला बन्धुहरूको बसोबास छ ।