Logo

बीपी कोइराला, राजा महेन्द्र र प्रचण्डलाई राजनेता मानेको छु : माओवादी उपमहासचिव



काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सत्तारुढ नेपाली कांग्रेसले बीपी कोइरालाको बाटो छाड्दै गएको टिप्पणी गरेका छन् ।
‘बीपी कोइरालालाई मैले राजनेताका रुपमा स्वीकारेको छु । अद्भुत क्षमता नभईकन कोही राजनेता हुँदैन । बीपीको बहुआयामिक व्यक्तित्व छ । बीपीको आदर्श राजनेताको चरित्रबाट हामी सबैले सिक्नुपर्छ । तर बीपीको बाटो कांग्रेसले छाड्दै गएको तपाईं हामीले अनुभूति गर्दै आएका छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता गजुरेलले बीपीसँगै राजा महेन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राजनेता भएको बताए । उनले थपे, ‘मैले कुनै बेला नेपालका तीन राजनेता बीपी, महेन्द्र र प्रचण्ड भनेर लेख पनि लेखेको थिएँ । चिन्तन पृथक भए पनि बीपी र राजा महेन्द्र राजनेता रहेको पुष्टि भइसकेको छ । प्रचण्ड अहिले त्यसको अग्निपरीक्षामा हुनुहुन्छ । सरकारका भूमिका र काम कारबाहीले त्यो आशा गरेका छौं । उहाँको जीवनकाल बाँकी छ । उहाँले हिम्मत गर्नुभएको छ, आँट गर्नुभएको छ । लय पक्रनुभएको छ । त्यसमा हामीले सबैले सहयोग गर्नुपर्छ ।’

‘सरकार पार्टीका भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैन’
तेस्रो कार्यकालमा प्रचण्डले आफ्नो ‘स्ट्रेन्थ’ देखाएको पनि सल्लाहकार गजुरेलको टिप्पणी छ । उनले भने, ‘प्रचण्ड तीन कार्यकाल प्रधानमन्त्री हुनुभयो । पहिलोमा प्रधानमन्त्री हुने चाहना पूर्ण भयो, दोस्रोमा संविधानको कार्यान्वयन गर्न पहल गर्नुभयो । अहिले शान्तिप्रक्रिया टुंग्याउने र परिवर्तनको रक्षा गर्ने मिसनमा हुनुहुन्छ । हामीले आफ्नो स्ट्रेन्थ कति छ, त्यो पनि हेर्नुपर्छ । यति गर्न सक्नु पनि ठूलो कुरा हो ।’
प्रचण्डको सरकार पार्टीका भ्रष्टाचारीलाई जोगाउने पक्षमा नरहेको गजुरेलले बताए । उनले भने, ‘पार्टीभित्र रहेका नेतामाथि पनि कारबाहीको प्रक्रिया सुरु भएको छ । मेरै आँखा अगाडि प्रचण्डले (कृष्णबहादुर) महराजीलाई (सुनकाण्डमा) तपाईंको नाम जोडिएर आइरहेको छ । आईजीपी र सीआईबी प्रमुखलाई भेट्नुस् भन्नुभएको छ । त्यसैले कसैलाई जोगाउने हो कि भन्ने आशंका मान्नुहुँदैन । अनुसन्धानको प्रक्रियामा छ, कति प्रमाण छ छैन, त्यो प्रहरीले जान्ने कुरा हो ।’

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारै जाने अवस्था आयो’
सुनकाण्डमा महराको संलग्नता भनेर प्रचण्डले पुष्ट्याइँ गर्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा गजुरेलले भने, ‘माओवादी कतै न कतै चुकिरहेको छ भन्ने जनतालाई लागिरहेको छ । माओवादीको नेता कतै छुँदै नछोएपछि जनताले कसरी विश्वास गर्छन् ? यसबारे मैले प्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भनेको छु । सरकारले भ्रष्टाचारको फाइल मात्र खोलेको मात्र होइन, समयमै मल, किताब पनि दियो । प्रधानमन्त्रीले नगरेको भए यस्तो हुन्थ्यो ?’ नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही गर्दा सरकारै जाने अवस्था आएको पनि उनले बताए ।

‘चिनियाँ राजदूतको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको भन्ने कुरा आएको छ’
चिनियाँ राजदूतको अभिव्यक्तिलाई लिएर प्रचण्डको सरकार रुष्ट भएको हो भन्ने प्रश्नमा उनले भने, ‘चिनियाँ राजदूत बोलेको कुरामा सरकार रुष्ट भएको नभन्नुस् न । उहाँले कुन सन्दर्भका कसरी बोलेको हो, यो छलफल, बहसको कुरा हो । राजदूतका विषयमा उहाँले नै स्पष्ट गर्नु होला । व्यापार सन्तुलन मिलाउने कुरामा गलत अर्थ लगाइएको छ, भन्ने कुरा आएको छ । कमीकमजोरी भए त रियलाइज गर्नु होला नि ।’ नेपालमा भइरहेका गतिविधिले चीनको आशंका, अविश्वास र गुनासो रहेको र त्यसमा आश्वस्त गर्न सक्दा त्यही ढंगले सहयोग पाउने विश्वास पनि उनले व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डको सन्निकट चीन भ्रमणका बेला दुई देशबीचको वातावरण बिगार्न नहुने उनले औंल्याए । गजुरेलले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो । अब चीन भ्रमणका बेला प्रधानमन्त्रीले वातावरण बिगार्दै जानु वा मिडिया बोल्नु कुरा राम्रो हुन्छ र ? बाहिर आएका कुरा चासो राख्ने कुरा हो, बढी खोतल्ने कुरा होइन । चीन र भारतको सन्तुलन बिग्रने बित्तिकै राजनीति बिग्रन्छ ।’

‘प्रचण्ड एक दिन पनि प्रधानमन्त्रीमा बस्नुहुन्न’
प्रचण्ड नेतृत्वको सरकार कति समय टिक्छ भन्ने पत्रकार धमलाको प्रश्नमा सल्लाहकार गजुरेलले भने, ‘गठबन्धनभित्र को कति अवधि प्रधानमन्त्री हुने भन्ने सम्बन्धमा जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । त्यसमा माओवाद्यी प्रतिबद्ध छ, त्यसको अरु उपाय पनि छैन । कांग्रेस वा एमाले अब हामी गर्छौं भनेर आए प्रचण्ड एक दिन पनि प्रधानमन्त्रीमा बस्नुहुन्न । मै छाडिदिनुस् भन्छु । प्रचण्डको चिन्ता प्रधानमन्त्री होइन, परिवर्तनको रक्षा हो ।’



प्रतिक्रिया दिनुहोस्