Logo

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–छिन्ताओ उडान सेवाको उद्घाटन (फोटोफिचर)



काठमाडौं, भदौ २४ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले लामो समयदेखि प्रतिक्षारत काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ । यो सेवा बिस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।

यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । एयरलाइन्सले आजदेखि हरेक आइतबार निर्धारित यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

पहिलो आउटबाउन्ड उडान नम्बर एच९ २२० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ९ः१५ छिन्ताआमा प्रस्थान गरेको छ । उक्त जहाज छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कूल एक सय यात्रु रहेको हिमालय एयरलाईन्सले जनाएको छ ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, माननीय सुदान किराँती, नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ, हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष, विजय श्रेष्ठ उपस्थित रहेका थिए ।
आफ्नो स्वागत सम्बोधनमा अध्यक्ष एनयोङले भने, “काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धी हो । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्दछ । दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।”

राजदूत सोङले भने, “काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण हो । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पु¥याउनेछ । यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ । यस रुटले हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा म विश्वस्त छु ।”

सो अवसरमा आफ्नो मन्तब्य राख्दै मन्त्री किराँतीले भने, “हिमालय एअरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक शहर हो । दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ । यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।”

हिमालय एअरलाइन्स्का प्रवक्ता समेत रहेका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै भने, “ हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालयले नेपालबाट चीनको लागि नयाँ रुटहरुमा उडान भर्दै आएको छ । यस अर्थमा नयाँ मर्केट स्थापित गर्नमा हाम्रो योगदान उल्लेखनीय छ क। यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न हामी उत्साहित पनी छौँ ।”



प्रतिक्रिया दिनुहोस्