Logo

तत्कालीन सरकारले छिमेकी मुलुक र कूटनीतिक नियोगमा नयाँ नक्सा सम्प्रेषण नगर्दा समस्या आयोः देव गुरुङ



काठमाडौं, २४ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सार्वभौम सम्पन्न नेपालको संसद्ले पास गरेको नक्सा छिमेकी मुलुकले स्वीकार गर्नुपर्ने बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन सरकारले छिमेकी मुलुक, संयुक्त राष्ट्रसंघ र नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुलाई नक्सा सम्प्रेसन नगर्दा अहिलेको अवस्था आएको बताए ।

‘विगतमा ओलीजी प्रधानमन्त्री भएको बेलामा संसद्बाट सर्वसम्मत रुपले नक्सा पास भयो । त्यो संयुक्त राष्ट्रसंघ, नेपालको छिमेकी मुलुक र नेपालको कूटनैतिक सम्बन्ध भएका सबैमा औपचारिक ढंगले नक्सा पठाउन आवश्यक हो ।’ उनले भने, ‘पछिल्लो समय परराष्ट्रमन्त्री ज्यूको कुरा सुन्दा त्यो बेलामा नक्सा पठाउन सकिएन । नक्सा नपाठाइएको अवस्थामा कतिपयले पुरानै नक्सालाई आधार बनाएर प्रकाशन गर्ने गरिराखेको पनि देखिन्छ । अपुरो रहेका ज्ञ्यापहरुलाई आगामी दिनमा पुरा गर्दै लैजान पर्छ ।’

नेपालको संसद्ले पारित गरेपछि उक्त नक्सा जोसुकैले पनि अन्यथा हुने गरी टीकाटिप्पणी गर्न नहुने उनले बताए । उनले चीनियाँ राजदूतको अभिव्यक्ति प्रक्रिया, विधि र पद्धतिको कोणबाट गलत रहेको बताए । कुनै पनि कूटनीतिक निकायमा रहेका व्यक्तिहरुले अन्य मुलुकको सन्दभृमा टीकाटिप्पणी गर्ने गरेको अभ्यास नरहेको उनले बताए ।

उनले उक्त विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक समीक्षा गरेर र आवश्यकता अनुसार संवाद गरेर हल गर्न आवश्यक रहेको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot