Logo

मोरक्कोमा गएको भूकम्पमा परी थप एक सयको मृत्यु भएको पुष्टि



अमिजमिज, २५ भदौ । मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ ।

सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा ४९२, चिचाउआमा २०१ र माराकेशमा १७ जना रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मोरक्कोका सेना र आपतकालीन सेवाहरू एटलस पर्वतीय क्षेत्रको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन् ।

यसअघि मराकेशका बासिन्दाले सिन्ह्वाका संवाददातालाई पराकम्पन अझै महसुस गर्न सकिने बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार यो विपत्तिले मोरक्कोको प्राचिन शहर मराकेश र यसको बाहिरी इलाकामा तीन लाख भन्दा बढी मानिसहरूलाई प्रभावित भएका छन् ।

हताहतहुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कन रेड क्रिसेन्ट (एमआरसी) ले उक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ, “पहाडी भूगोलका कारण खोजी र उद्धार प्रयासका लागि ठूलो चुनौती खडा गरेको छ । एटलस पर्वतका ती दुर्गम क्षेत्रहरूमा ठूला मेशिनरी साधनहरू प्राप्त गर्नु उद्धारका लागि प्राथमिकता रहेको छ ।”

“भग्नावशेषबाट धेरै मानिसलाई बाहिर निकाल्ने क्रममा एमआरसी र अन्य उद्धार समूहहरूले सबैभन्दा गम्भीर क्षति भएका स्थानहरू पहिचान गर्न र प्राथमिकता दिन चौबिसै घण्टा काम गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot