Logo

तनहुँका आठ स्थानीय तहमा हेलिप्याड



दमौली, २५ भदौ । तनहुँका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो ।

ठूलो विपद्का घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याड निर्माण गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ रिजालले जानकारी दिए । प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजनामा उल्लेख भएअनुसार ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा हेलिप्याड छैन । अन्य आठ स्थानीय तहका ३८ ठाउँमा हेलिप्याड छन् ।

व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा सात, भिमाद नगरपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा एक, देवघाट गाउँपालिकामा आठ, आँबुखैरेनी गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा १३ र घिरिङ गाउँपालिकामा एक हेलिप्याड रहेको छ ।

आँबुखैरेनी गाउँपालिका–२ को ढकालटार, भिमाद नगरपालिका–६ रङ्गशाला, देवघाट गाउँपालिका–१ को कोटा, वडा नं २ को कोटबैदी, ५ को क्युदी र १ को तिङ्गारमा हेलिप्याड बनाइएको छ ।

व्यास नगरपालिका–१ को निर्मल माविको खेल मैदान, ३ को दमौली खेल मैदान, ५ को आर्मी ब्यारेक, १२ को कोटकालिका मन्दिर, १४ को केशवटार माविको मैदान र ठीन टुँडिखेलमा हेलिप्याड छ । भानु नगरपालिका– १ र ५ मा हेलिप्याड छ ।

बन्दीपुर गाउँपालिका–१ को बानियाँटार, विष्णु मावि, छाप खेल मैदान, २ को भुमर्से खेल मैदान, ३ को कालिका मावि, शिव मावि, ४ को टुँडिखेल, ५ को विमलनगर, झारगाउँ खेल मैदान, कल्चोक खेल मैदान, ६ को धरमपानी र साराङघाटमा हेलिप्याड बनाइएको छ ।

घिरिङ गाउँपालिका–३ को डाँडाथोक करङसोरा, शुक्लागण्डकी नगरपालिका–७ को श्री नं ३ बाहिनी अड्डामा हेलिप्याड बनाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा आश्रयस्थल छैन । सात स्थानीय तहमा आश्रयस्थल नरहेको र त्यस्ता ठाउँमा आकस्मिक अवस्थामा सामुदायिक भवन तथा विद्यालय प्रयोग गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपाालकामा आश्रयस्थल नरहेको प्रशासन कार्यालयले जनाएको छ । भानु नगरपालिकामा पाँच, देवघाट गाउँपालिकामा तीन र बन्दीपुर गाउँपालिकाका छ ठाउँमा आश्रयस्थल रहेका छन् ।

सहायक प्रजिअ गैरेले भने, “अधिकांश स्थानीय तहमा आश्रयस्थल नरहेका तर ती स्थानीय तहमा सामुदायिक भवन विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिनेछ ।” जिल्लाका अधिकांश स्थानीय तहमा आपतकालीन आश्रस्थल भने छन् ।

व्यास नगरपालिकामा दश, भानु नगरपालिकामा २०, भिमाद नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा १२, देवघाट गाउँपालिकामा चार, आँबुखैरेनी गाउँपालिकामा चार, बन्दीपुर गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा आठ ठाउँमा आपतकालीन आश्रस्थल रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्