Logo

रमेश लेखकले महेन्द्रनगरबाट भने— सुवासजी बित्नुभयो भनेर पत्याउन निकै गाह्रो भइरहेको छ



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राजनीतिमा अपुरणीय क्षति भएको बताएका छन् ।
‘सुवासजी बित्नुभयो भनेर पत्याउन मलाई निकै गाह्रो भइरहेको छ । यो अप्रत्याशित निधनले स्तब्ध भएको छु । उहाँ अत्यन्त शालीन र भद्र व्यक्तित्व हुनुहुन्थ्यो । संसद्मा म २०५६ सालदेखि उहाँको निकट थिएँ । उहाँ सार्वजनिक लेखा समितिको सभापति हुँदा म सदस्य थिएँ । उहाँ संविधानसभा अध्यक्ष हुँदा पनि विभिन्न समितिमा रहेर काम गरियो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग भने, ‘उहाँ जतिसुकै विषयम परिस्थितिमा नहतारिने, कहिल्यै नरिसाउने अनि संयम र सज्जनतापूर्वक सबैलाई मिलाउने नेताका रुपमा आफ्नो महत्त्वपूर्ण छाप छाडेको नेता हो । उहाँको निधनले राजनीतिमा अपुरणीय क्षति भएको छ । उहाँको स्थानलाई कसैले पनि पूर्ति गर्न सक्ने स्थिति छैन ।’
राष्ट्रिय सहमतिका निम्ति सुवास नेम्वाङजस्तो नेता सदैव आवश्यक हुने पनि लेखकले औंल्याए । उनले भने, ‘संविधानसभामा प्रायः महत्त्वपूर्ण समिति रहेर मैले उहाँसँग काम गरें । मौलिक हक, नागरिकतालगायत संविधानलाई अन्तिम रुप दिँदा उहाँको नजिकको रहेर काम गरियो । रातभरि संविधानसभा चलेन । संविधानसभा सदस्यहरु कुर्सीमा सुत्नभएको थियो । तैपनि उहाँ विचलित हुनुभएन । फेरि पनि मिलाउनुपर्छ, सहमति गर्नुपर्छ भनेर प्रयास गरिरहनुभयो, संविधान निर्माणमा उहाँको अविस्मरणीय योगदान छ ।’
नेता नेम्वाङसँग आफ्नो व्यक्तिगत सम्बन्ध समेत रहेको लेखकले बताए । उनले थपे, ‘उहाँसँग कहिले भेटेर कुरा हुन्थ्यो, कहिले फोनमा कुरा हुन्थ्यो । प्रतिनिधिसभा अवरोध हुँदा गाँठो फुकाउन मैले उहाँसँग दैनिकजसो संवाद गरें । संक्रमणकालीन न्याय सम्बन्धमा अस्ति लामो कुराकानी भएको थियो । म हिजो महेन्द्रनगर आएँ । सहमतिमा चाँडो टुंग्याउनुपर्छ, महेन्द्रनगरबाट फर्केपछि कुरा गरौंला भनेर छुट्टिएका थियौं । उहाँले बिसन्चो भएको वा शारीरिक रुपमा गाह्रो भएको केही पनि भन्नुभएको थिएन । मैले आत्मीय सम्बन्ध भएको मित्र गुमाएको छु ।’



प्रतिक्रिया दिनुहोस्