२०३१ सालमा म सरकारी वकिल थिएँ । सुवासजीको विरुद्ध राजकाज मुद्दा थियो । त्यस्तो मुद्दा अञ्चलाधीश कार्यालयले हेर्थ्यो । पायोनियर ल एसोसिएट थियो उहाँको । त्यसमा भरत उप्रेतीले ‘कर्पोरट ल’ हेर्नुहुन्थ्यो भने सुवासजीले ‘क्रिमिनल ल’ । म पनि क्रिमिनल ल नै हेर्थें ।
कहिलेकाहीं आलाकाँचा वकिल–वकिलबीच भनाभन हुन्थ्यो । कतिपय वकिल सामान्य झगडिया जस्तो जिद्दी गर्थे । अदालतमा उहाँको र मेरो भेट हुन्थ्यो । बहस हुन्थ्यो । तर हामीबीभ कहिल्यै त्यस्ता घटना भएनन् । उहाँ बहस सकिएपछि भर् याङदेखि नै के छ वस्तीजी भन्नुहुन्थ्यो । यस्तो भलाद्मी पारा थियो उहाँको ।
उहाँले कहिल्यै जोसिएर अनावश्यक बोल्नुभएन । २०६१ मा म सर्वोच्च अदालतमा न्यायाधीश थिएँ । उहाँ वकिल भएर बहस गर्नुभयो । राजाको प्रत्यक्ष शासनमा पनि कहिल्यै हुँकार गर्नुभएन । सुवासजी बौद्धिक र मानवीय गुणले सम्पन्न असल राजनीतिज्ञ अनि फौजदारी अपराधका अति कुशल वकिल हुनुुहुन्थ्यो । मानवीय स्वभाव नबुझ्ने मान्छेले आफ्नो विरोधी वकिललाई पनि विरोधी दृष्टिकोण राख्छ । तर जसको मुद्दा लिए पनि विरोधीले समेत उहाँको आलोचना गर्न सक्दैनथ्यो ।
अन्तिम पटक उहाँले मलाई दुई वर्षअघि शान्ति सम्झौता अन्तर्गतको टीआरसीको अध्यक्ष बन्नका लागि फोन गर्नुभएको थियो । उहाँको निधनले धेरै रिक्तता ल्याउँछ । यसलाई भर्न धेरै मिहिनेत गर्नुपर्छ । सुवासजीको ज्ञान, मिजास, अध्ययन, इमानदारी उदाहरणीय छ ।
उहाँ संविधानसभा अध्यक्ष हुँदा ६०१ जनाको संसद् थियो । उहाँजत्तिको समझदार व्यक्ति ४० प्रतिशत भएको भए संविधान बनाउन ६ वर्ष लाग्दैनथ्यो । नेपालको संसद्मा दमननाथ ढुंगानापछिको योग्य सभामुख उहाँ नै हो ।
१० अक्षम व्यक्तिको रिक्तता र एक जना सक्षम व्यक्तिको रिक्तताले धेरै असर गर्छ । अस्ति भरखर पनि संसद अवरोध ठीक छैन, यसमा कानुनी ब्याकिङ छैन भनिरहनुभयो । अहिलेको २७५ सदस्यीय प्रतिनिधिसभामा उहाँजस्तो समझदार सांसद भए बेलायतको हाउस अफ कमन्सजस्तो हुन सक्थ्यो ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग गरेको कुराकानीमा आधारित