काठमाडौं, भदौ २६। पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । पराजुलीको उपचारको क्रममा मंगलबार बिहान बी एण्ड बी अस्पतालमा ५८ बर्षको उमेरमा निधन भएको हो ।
निमोनिया भएर अस्पताल भर्ना भएका उनको मल्टिपल अर्गान फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ ।
साझा प्रकाशनको सञ्चालक समिति सदस्य रहेका र पत्रकारितासँगै साहित्यमा पनि सक्रिय पराजुलीले हिमाल खबरपत्रिका, नेपाल समाचारपत्र, नागरिक, अभियान, बाह्रखरी डटकम, क्यापिटल बिजनेश म्यागजिन लगायतका सञ्चार माध्ययमा काम गरेका थिए ।
पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत आधा दर्जन कृति प्रकाशित छन्। पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ।