Logo

अर्को पार्टीले पनि पत्याउने एक मात्र नेता



सुवासचन्द्र नेम्वाङ मेरो गुरु हो । राजविराजबाट आईएल पास गरेर म काठमाडौं आएँ । उहाँले मलाई नेपाल ल क्याम्पसमा बीएल पढाउनुभयो । उहाँ अपराध कानुन पढाउनुहुन्थ्यो । उहाँसँगको मेरो सम्बन्ध २०३८ देखिकै हो ।
उहाँ जहाँ जहाँ रहनुभयो, त्यहाँ त्यहाँ सफल हुनुभयो । विद्यार्थी छँदा अब्बल दर्जाको विद्यार्थी रहनुुभयो । स्वर्णपदक प्राप्त विद्यार्थीका रुपमा चिनिनुभयो । शिक्षक हुँदा सबभन्दा राम्रो शिक्षक बन्नुभयो । वकालत गर्दा अब्बल वकिल बन्नुभयो । सभामुख र संविधानसभा अध्यक्ष हुँदा पनि अब्बल नै प्रमाणित हुनुभयो ।
२०४८ मा मदन भण्डारीले उहाँलाई राष्ट्रिय सभामा लैजानुभयो । दुई पटक राष्ट्रिय सभामा पुग्नुभयो । तर प्रतिनिधिसभामा चुनाव लड भन्दा मान्नुभएन । २०५६ मा बल्ल इलाम गएर चुनाव जानुभयो र जित्नुभयो पनि ।
तत्कालीन महासचिव मदन भण्डारी नेकपा एमालेको २०४९ को पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बनाउन चाहनुहुन्थ्यो । तर उहाँले धेरै पटक प्रस्ताव गरे पनि उहाँले मान्नुभएन । मदन भण्डारीले उहाँसँग मेरो सामीप्यता देखेर तपाईंले मनाइदिनुस् भन्नुभएको म सम्झन्छु ।
२०५१ मा नेकपा एमालेको एकल सरकार बन्यो । पार्टीले उहाँलाई कानुन मन्त्री बनाउन चाह्यो । उहाँलाई कन्भिन्स गर्न मैले बागबजारस्थित पार्टी कार्यालयमा लगेँ । गएँ । तैपनि उहाँले स्वीकार गर्नुभएन । मेरै मोटरसाइकलमा उहाँलाई घरसम्म पुर् याइदिएँ । उहाँ कानुन राज्यमन्त्रीमा जान चाहनुहुन्नथ्यो ।
पछि मनमोहन (अधिकारी) जीले कुरा गरेपछि बल्ल राज्यमन्त्री स्वीकार गर्नुभयो । अलि पछि फुल मिनिस्टिर बन्नुभयो । पछि उहाँ सभामुख बन्नुभयो र संविधान सभाध्यक्ष पनि । सुवासजीका सिद्धान्तनिष्ट, समन्वयकारी र सन्तुलनकारी विशेषता हुन् ।
संविधानसभामा उहाँले जे भूमिका निर्वाह गर्नुभयो, अरु भएको त्यो सहज हुनुहुन्नथ्यो । जतिसुकै झगडा गरे पनि उहाँको कोठामा गएपछि मानिस शीतल हुन्थ्यो । मानिसले जे सुकै सोचुन्, आफूलाई लागेको कुरा भन्नुहुन्थ्यो । कहिल्यै उत्तेजनामा आउनुहुन्नथ्यो । कहिल्यै रिसाउनु हुन्थेन । साथीहरु कडा रुपमा प्रस्तुत हुँदा पनि हाँसेर टारिदिनु हुन्थ्यो ।
प्रायः एकदुई दिनमा उहाँसँग मेरो भइरहन्थ्यो भेट । पछिल्लो चरणमा अलि पातलो थियो । गाईजात्राको दिन दिउँसो मलाई फोन गर्नुभएको थियो । हामीले सँगै गाईजात्रा हेर् यौं । त्यसपछि कुरा हुन पाएको थिएन ।
उहाँलाई सुगर र प्रेसरको समस्या थियो । तर उहाँ जति स्वास्थ्योपचार गरिरहने, डाक्टरकहाँ गइरहने कोही पनि थिएन । संसद्मा पनि सधैंभरि चेक गरिरहनुहुन्थ्यो, हात देखाइरहेको देखिन्थ्यो । उहाँले कुनै हेलचेक्राइँ गरेजस्तो लाग्दैन ।
उहाँको निधनले व्यक्तिगत रुपमा मलाई धेरै ठूलो घाटा भएको महसुस भएको छ । भाउजू भन्नुहुन्थ्यो– तिमीहरु दुईजना आमाले जन्माएका दाजुभाइ हौ । उहाँ मलाई तँ, तिमी, तपाईं आदि केही शब्द पनि प्रयोग नगरी बीचको शब्द प्रयोग के छ अग्नि ? के गरिँदै छ ? कता छ कार्यक्रम भन्नुहुन्थ्यो ।
संसद्मा वा संसद्बाहिर अर्को पार्टीले पनि पत्याउने उहाँमात्र हुनुहुन्थ्यो । आफ्नो पार्टीले पत्याएका नेता त धेरै छन् । सबै दलका मानिसलाई सुवासजीको कुरा सुनौं न त भन्ने लाग्थ्यो । सबैलाई कुरा सुन्न बाध्य बनाउने एउटा परिपक्व नेता आज राजनीतिबाट अस्ताएको छ ।
पूर्व कानुनमन्त्री अग्नि खरेलसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्