काठमाडौं, २६ भदौ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले एमाले उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले नेम्वाङको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताएका छन् । दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री महतोले उनको राजनीतिक योगदानको सधैं स्मरण गर्ने पनि उल्लेख गरेका छन् ।
मन्त्री महतोले सामाजिक सञ्जालमार्फत नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले लेखेका छन्–
भावपूर्ण श्रद्धाञ्जलि
एकदमै मृदुभाषी, शालीन व्यक्तित्वका धनी र समन्वयकारी गुण भएका व्यक्तित्व नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष कमरेड सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध छु । उहाँको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । अलविदा कमरेड । यहाँको राजनीतिक योगदानको सधैं स्मरण गर्नेछौं ।
डा. वीरेन्द्र प्रसाद महतो, मन्त्री –वन तथा वातावरण मन्त्रालय