Logo

सचिव भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथि



काठमाडौँ, २६ भदौ  गृह मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिनेश भट्टराईले सम्हालिरहेका छन् । गृह मन्त्रालयको विभिन्न महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, मकवानपुर, उदयपुर, दाङ, बारालगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका गृहसचिव भट्टराई गृहका अनुभवि ‘क्याडर’ हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुशासनको अभियानलाई सफल पार्न निरन्तर खटिरहेका गृहसचिव भट्टराई हक्की र खरो स्वभावका प्रशासकका रुपमा परिचित छन् । उनले गृहमन्त्री श्रेष्ठको हरेक अभियानलाई सार्थकता बनाउन विशेष भूमिका खेलिरहेका छन् । सुशासन, पारदर्शी र शान्ति सुरक्षालाई मुल मर्मका रुपमा लिएका गृहसचिव भट्टराई र मन्त्री श्रेष्ठबीचको ‘ट्युनिङ’ राम्रोसँग मिलेको गृहमन्त्रालयभित्र चर्चा छ । नाकामा हुने तस्करी र भड्कन सक्ने शान्ति सुरक्षालाई काबुमा राख्न उनको ट्रिकले राम्रै काम गरेको देखिन्छ ।

गृहमन्त्री श्रेष्ठ र सचिव भट्टराईको सादगी स्वभाव समेत मिल्छ । राष्ट्रिय परिचयपत्रलाई यो अवस्थासम्म ल्याउन उनको विशेष योगदान रहेको छ ।
गृह बुझेका र जानेका सचिव भएकाले गृहमन्त्री श्रेष्ठलाई काम गर्न पनि सहज भएको टिप्पणी हुन थालेको छ । सचिव भट्टराईको आगमनसँग गृह प्रशासनको सक्रियता एकदमै बढेको छ । प्रशासनिक कामका हिसाबले गृह मन्त्रालय लय समात्न थालेको कर्मचारीहरु नै सुनाउँछन् ।

अहिले गृह मन्त्रालयका महाशाखाहरु समेत चलायमान हुन थालेका छन् । खटेर काम गर्ने र अनुभवि सचिव भेटेकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि एक्सनमा जान सजिलो भएको देखिन्छ ।

भट्टराई कोशी प्रदेशको प्रमुख सचिव, वाणिज्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव हुँदै गृहसचिव बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत विश्वास गरेका र मनले खाएका सचिव भट्टराई आफूले पाएको कामलाई सफलतापूर्वक सम्पन्न गर्नेमा गनिन्छन् । अहिले गृहसचिव भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथिका रुपमा परिचित हुन् थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot