Logo

पूर्वराजा ज्ञानेन्द्र जोडिएको मूर्तिचोरीको मुद्दा हेरेपछि आलोचना खेपेका थिए सुवास नेम्वाङले



टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता–
सुवासचन्द्र नेम्वाङलाई मैले सर्वप्रथम एउटा असल शिक्षकका रुपमा चिनें । म उहाँको विद्यार्थी भन्नमा गर्व गर्दछु । उहाँका मजस्ता धेरै विद्यार्थी छन् । उहाँ नेपाल ल क्याम्पसमा फौजदारी कानुन पढाउनुहुन्थ्यो । अरु शिक्षकहरुको कक्षामा विद्यार्थी आउजाउ भइरहन्थ्यो । सुवास सरको क्लास छ भनेपछि सबैजसो विद्यार्थी उहाँलाई सुन्न एकदमै लालायित हुन्थे । उहाँको मीठो स्वर, तर्क र प्रस्तुति शैली अनि अनुशासनले हामीलाई मन्त्रमुग्ध पार्थ्यो ।
पछि म कानुन व्यवसायमा आइसकेपछि पनि उहाँसँगका अनेक सम्झना छन् । उहाँले जहिले पनि मलाई मुद्दा लेख्ने क्रममा इन्करेज गर्नुभयो । प्रारम्भमा म निवर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की र पूर्व कानुनमन्त्री अग्नि खरेलको पुतलीसडकस्थित ल फर्ममा सिक्ने बसें । सुवास सरको पायोनियर ल फर्म पद्मकन्या कलेज अगाडि बागबजारमा थियो । सुवास सर जहिले पनि हाम्रो फर्म भएर सँगै एक कप चिया खाएर मात्र सर्वोच्च अदालततिर निस्कनुहुन्थ्यो ।
एक दिन हरिकृष्ण कार्की मैले लेखेको मुद्दा करेक्सन गर्दै हुनुहुन्थ्यो । सुवास दाइले के भन्नुभयो भने, ‘संविधानको धारा, कानुनको दफा मिलेको छ, छैन त्यो हेर्नू । भाषा, शैली आआफ्नै हुन्छ । टीका भाइको भाषाशैली एकदमै राम्रो देखेको छु, त्यसकारण भाषा, शैली, व्याकरणमा करेक्सन गर्ने होइन, कन्टेन्टमा करेक्सन गर्ने हो । यो भाइ भविष्यमा राम्रो वकिल हुन्छ ।’
यो गुरुवाक्य अहिले पनि मेरो स्मृतिमा तरोताजा छ । सुवास दाइ हरिकृष्णका पनि गुरु हुनुहुन्थ्यो । त्यसपछि उहाँले ‘ल यो सुवास दाइले त पास गर्नुभा’को, अब म तपाईंले लेखेको हेर्दिनँ । कानुन र संविधान मात्र हेर्छु’ भन्नुभयो । सुवास दाइ जुनियरलाई पनि त्यसरी इन्करेज गर्नुहुन्थ्यो ।
हामी ल क्याम्पसमा पढ्दा पञ्चायत व्यवस्थाविरोधी आन्दोलन सुरु भयो । हामी पनि त्यसमा सहभागी भयौं । सुवास सरले आफू शिक्षक भए पनि विद्यार्थीजस्तै हैसियतमा हामीलाई सहयोग र मद्दत गर्नुभयो ।
२०४८ सालमा राष्ट्रिय सभा सदस्य भएपछि उहाँले प्राध्यापन पेसा छाड्नुभयो । तर बहसलाई कहिले पनि छाड्नुभएन । उहाँलाई सुवासचन्द्र नेम्वाङ बनाउने चाहिँ संविधान र कानुनकै पृष्ठभूमि हो । उहाँ ठूलठूला मुद्दाहरु हेर्नुहुन्थ्यो । पञ्चायतकालमा भरत गुरुङको मुद्दा पनि हेर्नुभएको थियो । त्यो मुद्दालाई तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग पनि जोडेर हेरिन्थ्यो । ज्ञानेन्द्रकै मिलेमतोमा भरत गुरुङले मूर्तिचोरी गरेको आशंका पत्रपत्रिका र सार्वजनिक वृत्तमा लगाइएको थियो ।
सुवास दाइले त्यो मुद्दा हेरेपछि वामपन्थी वृत्तमा निकै आलोचना खेप्नुपरेको थियो । उहाँले के भन्नुभयो भने, ‘कानुन व्यवसायी भइसकेपछि आफूकहाँ जस्तो मुद्दा आउँछ, त्यो लिनु कानुन व्यवसायको धर्म हो । नचाहिने कुरा, मिसिलमा नभएको कुरा बनाउनुहुँदैन, तथ्य, प्रमाण र कानुन ढाँट्नुहुँदैन । तर जस्तोसुकै अपराधी भए पनि आफूलाई पत्याएर आएपछि गर्नुपर्छ । इमर्जेन्सीमा बसेको डाक्टरले चोर, अपराधी हत्यारा जोसुकै आए पनि उपचार गर्नुपर्छ, वकिलको पेसा पनि त्यस्तै हो ।’
उहाँ विश्वविद्यालयमा प्राध्यापन गर्दा जसरी चर्चित हुनुहुन्थ्यो, कानुन व्यवसायमा त्यसरी नै चर्चित हुनुभयो । उहाँले त्यस्ता अनेकन् फौजदारी मुद्दा हेर्नुभयो । त्यसपछि महत्त्वपूर्ण संवैधानिक मुद्दा पनि हेर्न थाल्नुभयो । उहाँ संविधानसभा अध्यक्ष हुँदा संविधान निर्माणका क्रममा संवैधानिक कानुनमा विशेषज्ञता हासिल गरेका पूर्णमान शाक्य, भीमार्जुन आचार्य, विपिन अधिकारी र मलाई बोलाइरहनुहुन्थ्यो ।
त्यतिबेला कृष्ण सिटौला संविधान मस्यौदा समितिको संयोजक हुनुहुन्थ्यो । हामी औपचारिक र अनौपचारिक छलफल गर्थ्र्यौं । साँच्चै भन्ने हो भने उहाँ संविधानसभाको अध्यक्ष नभएको भए २०७२ असोज ३ गते ३१ दलका ६०१ जना सांसद अनि सबै जातजातिलाई एकजुट हुने गरी यही रुपमा संविधान आउँदैनथ्यो । किनभने संविधान जारी गर्ने बेला मित्रराष्ट्र नरााज थियो । उसले प्रतिनिधि नै पठाएको थियो ।
संविधान कसले घोषणा गर्ने भन्ने प्रश्न पेचिलो भएकाले उहाँले राष्ट्रपतिलबाट नै जारी गर्नुपर्छ भन्ने विचार राख्नुभयो । तत्कालीन राष्ट्रपतिले जुन समुदायको प्रतिनिधित्व गर्नुहुन्थ्यो, त्यसबाटै जारी गर्नु उपयुक्त हुन्छ भन्ने उहाँको धारणा थियो । सुवास नेम्वाङ र सिटौला तत्कालीन राष्ट्रपतिकहाँ जानुभयो ।
तत्कालीन राष्ट्रपतिले तराई मधेसमा आगो लागेका बेला त्यो झन् सल्केर जान्छ कि भन्दै कुटिलतापूर्वक अस्विकार गर्नुभएको थियो । तर नेम्वाङले अर्को कुटिलतापूर्वक उपाय सुझाउनुभयो– संविधानसभामा असोज ३ मा संविधान जारी गर्न राष्ट्रपतिलाई बोलाउने साझा संकल्प पास गर्ने । त्यसलाई सिटौलाले तत्कालै स्वीकार गर्नुभयो ।
यदि संविधानसभाको त्यो अनुरोध राष्ट्रपतिले अस्विकार गरेको भए मुलुकमा अप्ठ्यारो स्थिति सिर्जना हुन सक्थ्यो । सुवास र सिटौलाको चार्तुय र कुटिलताका कारण दुनियाँलाई चकित बनाउँदै नेपालको संविधान, २०७२ जारी भयो । रामवरण यादवबाट राष्ट्रिय एकता र अखण्डतासहितको संविधान जारी गराउन सक्नुको असाध्यै महत्त्व छ । यति मात्र होइन, २०६३ मा राजाको अधिकार खोस्ने संविधानको सूत्रधार पनि हो । किनभने त्यतिबेला पनि उहाँ सभामुख हुनुहुन्थ्यो ।
सुवास दाइ राष्ट्रियता, जातजाति, वर्ग, समुदायको एकतामा दृढ र अविचलित रुपमा लाग्नुभएको थियो । वामपन्थी आन्दोलनमा त्यसरी लाग्ने व्यक्तित्व कम छन् । उहाँले धरानमा गरेको अन्तिम भाषणमा पनि त्यो कुरा छ । राष्ट्रिय एकता र जातीय सद्भाव कायम राखेर समृद्धि हासिल गर्नुपर्छ भन्ने उहाँको अटल मान्यता थियो ।
उहाँ आफ्नै दलले गरेका निर्णयमा समेत घुमाउरो ढंगले असहमति राख्नुहुन्थ्यो । पार्टीका कुरालाई सबै कुरा समर्थन गर्नुहुन्नथ्यो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयसम्म संसद् अवरोध गरिरहँदा धुलिखेलमा आयोजित कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति चर्चित पनि भयो । त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘संसद् अवरोध गर्नुपर्छ भनेर संविधान र नियमावलिमा कतै लेखिएको छैन । जसले अवरोध गरेको छ, उसले नै त्यसको औचित्य पुष्टि गर्नुपर्छ ।’
सुवासचन्द्र नेम्वाङमा त्यस्ता दुर्लभ गुण थिए । त्यस्तो गुण भएको व्यक्ति जन्मन समय लाग्छ । उहाँको निधनसँगै मुलुकले देशभक्त, राष्ट्रप्रेमी र समन्वयकारी व्यक्तित्वलाई गुमाएको छ । उहाँको निधनसँगै संविधान टुहुरो भयो त नभनौं । तर संविधान पक्षधर शक्तिलाई एक ठाउँमा ल्याउने अभाव खड्किएको छ ।
सुवासचन्द्र नेम्वाङलाई कानुनको पृष्टभूमिले संविधानसभाको अध्यक्ष बनेर संविधान बनाउने ऐतिहासिक अवसर प्राप्त भयो । यो वामपन्थी आन्दोलनको मात्र कुरा होइन, नेपाली कांग्रेसमा पनि समन्वयकारी भूमिकाका नेता छन् । सुवास दाइसँग तुलना गर्न नसकिएला । तर कृष्ण सिटौलालाई पनि हामीले समन्वय, समझदारी र एकताका निम्ति त्यस किसिमको बोली र व्यवहार गर्ने नेताका रुपमा बुझ्दछौं । सुवास नेम्वाङका कारण उहाँ छायामा पर्नुभएको हो ।
एमालेमा प्रदीप ज्ञवाली पनि शान्तिप्रक्रिया र संविधान निर्माणमा लागेको व्यक्तित्व हो । तर उहाँले पार्टीभन्दा माथि उठेर मुलुकको नेतृत्व गर्ने व्यक्तित्व बनाउन सक्नुभएको छैन । कांग्रेसमा पूर्णबहादुर खड्कामा पनि यदाकदा त्यस्तो गुण देखिन्छ । एमालेका शंकर पोखेरेल, कांग्रेसका चन्द्र भण्डारी जस्ता नेताहरुमा पनि त्यो सुझबुझ छ । भीम रावल पनि राष्ट्रभक्त र संविधान पक्षधर नेता नै हो ।
अरु नेतामा सुवास दाइ जतिको छवि नबनेको नहोला । तर उहाँ त बितेर गइसक्नुभयो । यो यथार्थ हो । अब त्यस्ता देशभक्तका रुपमा अगाडि सार्नुपर्छ । एउटा व्यक्तित्वको निधन भएपछि त्यो ठाउँमा कसैले न कसैले त लिनुपर्छ ।
नेताहरुका गुण, पृष्ठभूमि र क्षमता फरक फरक हुन्छन् । बीपी कोइराला वा मदन भण्डारी एकै दिन बन्दैन । मुलुकको संवैधानिक र राजनीतिक निर्णायक क्षणमा उहाँको अभाव महसुस गरे पनि देशभक्त गयो भनेर अब बिलौना गर्नेभन्दा पनि त्यस्तै नेता जन्माउन हामी सबै लाग्नुपर्छ । त्यो नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्