Logo

कालो कोट — सुवास नेम्वाङको ‘सिम्बोल’



शेरबहादुर केसी–

सुवासचन्द्र नेम्वाङ मेरो श्रद्धेय गुरु हो । म नेपाल ल कलेजमा उहाँको शिष्य हुँ । असल र कुशल व्यक्तिका रुपमा मैले उहाँलाई चिन्दै गएँ । तर राजनीतिक रुपमा चिनेको थिइनँ । उहाँले मलाई शिक्षकका रुपमा ज्ञान दिनुभयो । त्यो ज्ञान अहिले पनि उपयोग गरिरहेको छु । प्राध्यापन र वकालतमा उहाँको जुन उचाइ थियो, राजनीतिमा गएपछि पनि उहाँले उच्चतम उचाइ प्राप्त गर्न सफल हुनुभयो ।
उहाँले पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष भएर काम गर्नुभयो । पहिलो संविधानसभाको विघटनपछि यसले संविधान लेख्दैन भन्ने सन्देश गएको थियो । मिलनसार, कार्यकुशलता र सहजीकरण गर्न क्षमताका कारण दोस्रो संविधानसभाबाट संविधान लेख्न सफल हुनुभयो र प्राध्यापकदेखि राजनेतासम्म दरिनुभयो ।
अहिले राजनीतिमा इमानदारीको खडेरी परेको छ । शक्तिमा पुगेपछि त्यसको दम्भले आफ्नो गाउँ, साथीभाइ र जनतालाई बिर्संदा मुलुकको दुर्दशा भएको छ । उहाँबाट हामीले शक्तिमा गएर मात्तिनुहुँदैन भन्ने सिक्नुपर्छ । नैतिकता र इमानदार कर्ममा विश्वास गर्न सिक्नुपर्छ ।
दलहरुको विषयमा अहिले धेरै प्रश्न उठेका छन् । सिंगो व्यवस्थाप्रति नै वितृष्णा भएका बेला उहाँलाई म सिस्टमभित्रको उदार दियोका रुपमा सम्झन चाहन्छु । न्यायिक र राजनीतिक र सामाजिक क्षेत्रले एउटा असल व्यक्तिलाई गुमाएको छ । त्यसको क्षतिपूर्ति सुवास नेम्वाङजस्तो व्यक्तिबाट नै हुन सक्छ अनि मात्र मुलुकले सही गन्तव्य लिन सक्छ ।
उहाँ संविधान जारी भएपछि कालो कोट लगाएर अदालतमा बहस गर्न जानुभयो । उहाँ आफ्नो पेशामा पनि इमानदार र लगनशील हुनुहुन्थ्यो । उहाँको सिम्बोल नै कालो कोट हो । चैत–वैशाखमा पनि उहाँ कालो कोट नै लगाएर हिँड्नुहुन्थ्यो । उहाँले जहिले पनि आफ्नो परिचय नै वकिलकै रुपमा लिएर हिँड्नुभएको थियो । उहाँको त्यो सरलता र शालीनता सधैं सम्झना लायक छ ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष केसीसँगको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्